गृहपृष्ठ ओलीलाई प्रचण्डको जवाफ : भारतले होइन, तपाईंको राजीनामा हामीले मागेका हौं
ओलीलाई प्रचण्डको जवाफ : भारतले होइन, तपाईंको राजीनामा हामीले मागेका हौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् । स्थायी कमिटी बैठकमा आइतबार ओलीले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रचण्डले दुवै पदबाट ओलीको राजीनामा मागेका हुन् ।
प्रधानमन्त्री ओली विनाआधार सतही कुराको पछि लागेको पुष्टि भएकाले अब उनले राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ रहेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए । ‘मदन जयन्तीमा बोल्नु भएको कुराले पार्टीको प्रतिष्ठा गिरेको छ । भारतसँग मात्र होइन अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन तपाईंले सक्नु हुन्न । जिम्मेवारी अनुसारको अभिव्यक्ति आपत्तिजनक छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
मदन जयन्त्रीमा ओलीले प्रधानमन्त्रीबाट आफूलाई हटाउन भारत र काठमाडौंबाटै चलखेल भइरहेको बताएका थिए । यही विषयले मंगलबारको नेकपा स्थायी कमिटी बैठक गर्माएको हो । प्रचण्डलाई जवाफ फर्काउँदै ओलीले बैठकमा भएका कुरा भारतीय सञ्चारमाध्यमबाट हुबहु आएको विषयमा पनि गम्भीर छलफल हुनुपर्ने बताए ।
लगत्तै प्रचण्डले भारतले होइन, अब पार्टीभित्रैबाट ओलीको राजीनामा मागिएको बताए । उनले भने, ‘तपाईंले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुस् । तपाईंले नैतिकता गुमाइसक्नु भयो । भारतले भनेको होइन यो मैले भनेको हो ।’
प्रकाशित समय १७:२७ बजे

















