गृहपृष्ठ दार्चुलाका तीन स्थानमा सशस्त्रको सीमा सुरक्षा पोस्ट

दार्चुलाका तीन स्थानमा सशस्त्रको सीमा सुरक्षा पोस्ट

दार्चुलाका तीन स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् । दार्चुलाको मालिकार्जनु गाउँपालिका ७ जोलजिवी, लेकम गाउँपालिका ३ लाली र व्यास गाउँपालिका २ दुम्लिङमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने अतिक्रमण, अवैध निकासी–पैठारी, लागु औषध ओसारपसार, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएका तीन स्थानमा बिओपी स्थापना गरिएका छन् । बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले गरेका छन् ।

बुढाथोकीले जोलजिवी र लालीमा स्वयं उपस्थित भएर पोस्टको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक बुढाथोकीले सशस्त्रले पाएको सीमा सुरक्षा जिम्मेवारी चौविसै घण्टा दिने बताए ।

सीमा रक्षाका साथै सीमामा हुने आपराधिक गतिविधि र चोरीनिकासीलाई निरुत्साहित पार्न बिओपी स्थापना गरिएको उनले बताए । त्यस्तै मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले भारतसँगको सिमामा स्थापना गरिएको बिओपीले सीमा अपराध र चोरीतस्करी नियन्त्रण हुने विश्वास व्यक्त गरे । यसअघि दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा वैशाख ३१ गते बिओपी स्थापना भइसकेको छ ।

प्रकाशित समय २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु