गृहपृष्ठ नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणका लागि अन्तिम तयारीमा
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणका लागि अन्तिम तयारीमा
औषधिको विषयमा गरेको दावी सफल हुनसक्ने विज्ञहरुको भनाइ
हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा. ललितकुमार दासले निर्माण गरेको कोरोना (कोभिड- १९) विरुद्धको खोप तथा औषधि परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ । नमूना औषधि तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको डा. दासले बताए ।
सो प्रतिवेदन भित्रका मापदण्डहरु पूरा गर्ने लामो प्रक्रियाको कारण तयारीमा केही समय लागेको उनको भनाइ छ । प्रतिवेदन कुरेर बसेकाले केही समय यो विषय ओझेल परेकोजस्तो देखिए पनि आफ्नो कार्य निरन्तर भइरहेको उनको भनाई छ । डा. दासका अनुसार उनले आफ्नो प्रयोगशालामा कोरोनाको भाइरस हटाउनेसम्बन्धी ‘एण्टी अक्सिडेण्ट एक्टिभिटी’ र ‘इन्जियोमेटिक एक्सन’ भएका बिरुवाहरु लिएर त्यसमाथि आवश्यक शोध गरेर औषधि तयार गरेका छन् । उनले कोरोना विरुद्धको खोप र खोपबाट हुनसक्ने एलर्जीका लागि समेत मुखबाट सेवन गर्न मिल्ने औषधि गरी दुवै औषधिको नमूना नै तयार भएको दावीसमेत गरेका छन् ।
उनले मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औषधिको समेत नमूना तयार भइसकेको र यी सबै औषधिको परीक्षणको लागि प्रतिक्षामा रहेको दाबी गरे । आफूले तयार गरेको औषधि शतप्रतिशत सफल हुने दावी गर्दै बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाललाई निरीक्षण गराएर प्रतिवेदन बुझाएर यसबारेमा थप सहयोग पुगेको महसुस गरेको डा. दासको भनाई छ । उनले हाल नमूनाको रुपमा औषधि तयार रहेको र परीक्षण सफल भएमा ठूलो परिमाणमा औषधि बनाउन पनि समस्या नरहेको बताए ।
विगत २२ वर्षदेखि अनुसन्धान तथा अध्यापन गर्दै आएका उनले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधी गरेका हुन् । यसअघि जेठ २२ गते उनले सार्वजनिक गरेको कोरोना विरुद्धको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जानकारी लिएको थियो । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित कार्यालयबाट नै भिडियो कोन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्ष रुपमा कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको डा. दासले जानकारी दिए । उक्त छलफलमा विश्व स्वास्थ्य संगठनले आफ्नो निर्देशिकामा आधारित रहेर दुई घण्टा लामो सवाल-जवाफ पनि गरेको थियो ।
उक्त प्रयोगशालामा उत्पादन गरिएको औषधि सम्बन्धमा आवश्यक जानकारीका लागि सो अध्ययन संस्थानका प्रध्यापक दामोदर गैरेले डब्लुएचओमा लिखित प्रस्ताव पठाएपछि उक्त प्रयोगशाला पनि छनौट भएको बताए । सर्वप्रथम नेपालको सम्बन्धित निकायसँग खोपको परीक्षण गराउनुपर्ने र नभए विश्व स्वास्थ्य संगठनसँग त्यसको प्रभावकारिता मूल्यांकनका लागि पहल गरिने कुराकानी भएको बताइएको छ । उक्त खोपका लागि प्रयोजन स्वीकृत भएमा ‘ट्रायल फन्ड’ का लागि पाँच लाख अमेरिकी डलर प्राप्त हुनेसमेत उक्त छलफलमा जानकारी गराइएको डा. दासले जनाए ।
डा. दासले आफ्नो औषधिको विषयमा गरेको दावी सफल हुनसक्ने विज्ञहरुको भनाई रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक डा. चन्द्रराज सापकोटाले आयुर्वेदिक पद्दतिबाट बनाइएको औषधि सफल हुनसक्ने बताए । उनले भने, ‘हामीसँग परीक्षण गर्ने प्रयोगशाला भइदिएको भए हामीले प्रयोग गर्दै आएका गुर्जो, पिप्ला, मरिच, सुठो, बेसार मिलाएर बनाएको औषधिले काम गर्छ भन्ने प्रमाणित भइसक्ने थियो, तर प्रयोगशालाको अभावमा हामीसँग प्रशस्त सम्भावनाहरु भए पनि खुम्चिएर बस्नुपर्ने अवस्था छ ।’
उनले यिनै जडिबुटीहरुको मिश्रणबाट डा. दासले औषधि तयार पारेको भए डा. दास सफल हुनेछ उनले बताए । आयुर्वेदिक औषधिबाट रुघा, खोकी, ज्वरो निर्मुल हुने भन्दै प्राडा. सापकोटाले कोरोना जीवाणु पनि स्वासप्रस्वाससँग बढी सम्बन्धित महामारी भएकोले डा. दासले जडिबुटीहरुको मिश्रणले तयार पारेको औषधिले काम गर्नसक्ने बताए । उनका अनुसार कोरोना एक किसिमको कडा खालको रुघा नै रहेको र यसको आयुर्वेदिक उपचार सम्भव रहेको छ ।
डा. दासको उक्त कार्यलाई बागमती सरकारले प्रोत्साहन गर्दै सहयोग गर्ने भएको छ । यस्तो कार्यमा प्रदेश सरकारले चासो राख्ने सामाजिक विकासमन्त्री युवराज दुलाले बताए । डा. दासले तयार पारेको उक्त औषधि परीक्षणको लागि प्रदेश सरकारले आर्थिकदेखि अन्य आवश्यक सबै खालको सहयोग गर्ने पनि मन्त्री दुलाले बताए । उनले डा. दासले औषधि तयार गरेको बताएको भए पनि यसको परीक्षणको प्रक्रियाबारे थाहा नपाएको कारण समय लागेको बताए । ‘डा. दासले औषधिको लागि नेपाल सरकारसँग अनुमति लिनुपर्ने हुन्छ । यो प्रक्रियामा जान सुझाएको छु । यसका साथै उक्त प्रक्रियापछि उहाँ सही दिशामा हुनुहुन्छ वा हुनुहुन्न त्यो पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नै हेर्छ र उहाँको लागि आवश्यक सबै सहयोग प्रदेश सरकारले गर्नेछ,’ मन्त्री दुलालले भने । आर्थिक कारणले उनको औषधि परीक्षण प्रक्रिया नरोकिने पनि मन्त्री दुलालले बताए ।
यता कोरोनाको औषधि बन्यो भनेर उत्साहित भएका सर्वसाधरणहरु भने लामो समयसम्म औषधिको प्रयोग तथा प्रक्रियाबारे थाहा नपाउदा निराश भएको बताउन थालेका छन् । हेटौंडा उपमहानगरपालिका- ४ का ८९ वर्षीय कृष्णप्रसाद मैनालीले भने, ‘कोरोनाको डरले घरभित्र नै थुनिएर बसेका हामी हाम्रो हेटौंडामा नै औषधि बन्यो रे भन्दा खुशी भएका थियौँ तर यतिका समय भयो औषधि खान पाउने खबर नआएकोले निराश भएका छौँ ।’ नेपालभर समाचार आएको र विश्वमा नै पुगेर विश्व स्वास्थ्य संगठनकै ध्यानाकर्षण भएको कुरा यत्तिकै नआएको हुनुपर्ने उनको भनाइ छ । ‘मन्त्रीले पनि हेर्या भन्ने सुन्थेँ, त्यसैले यो विषयलाई जतिसक्दो चाँडो प्रयोगमा ल्याउने वातावरण सरकारले मिलाओस्,’ उनले थपे । औषधिको थप प्रक्रियाबारे जानकार नभएको बताउँदै मैनालीले औषधि बन्यो भन्ने समाचारले खुशी बनाएको र यसलाई प्रयोगशालासम्म लगेर यसको उपयोगिताबारे चाँडै बाहिर आओस् भन्ने माग रहेको बताए ।
विश्वमा नै कोरोना विरुद्धको औषधि निर्माण तथा परीक्षण जारी रहेका समाचारहरु आउने गरेका छन् । तर पनि यसको औषधि या खोप नै पत्ता लागिसकेको अवस्था भने छैन । यस्तो समयमा डा. दासको औषधिको परीक्षण सफल भएमा यो नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि ठूलो उपलिब्ध हुनेछ । यस महामारीको औषधि भारतीय आयुर्वेदिक औषधि निर्माण कम्पनी पतञ्जलीले निर्माण गरेको दावी पनि गरेको थियो । तर सो औषधि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको परीक्षण नभएको र औषधि निर्माणको अनुमतिसमेत नलिएको भन्दै प्रतिबन्द लगाइएको छ । (रासस)
प्रकाशित समय १५:३७ बजे

















