गृहपृष्ठ देउवाको नियतको दलदलमा फस्दै कांग्रेस

देउवाको नियतको दलदलमा फस्दै कांग्रेस

एकपटक, दुईपटक होइन, तीनपटक मतदाताका घरघर पुगेर भोट माग्नुस्, उहाँहरूले भोट दिनुहुन्छ, कांग्रेसले चुनाव जित्छ - देउवा

oli-deuwa-newskarobar

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नियतको दलदलमा फस्दै गएको छ । विचार र पद्धतिबाट उद्वेलित भएका देउवाले प्रधानमन्त्री बन्ने सपनालाई एकमात्र उद्देश्य बनाएपछि कांग्रेस त्यसकै भासमा फस्दै गएको छ ।

भैरहवामा सोमबार भएको कार्यक्रममा उनले निर्वाचन आयोगप्रति नै आक्रोश पोख्नु यसको पछिल्लो उदाहरण हो । चुनावको तयारी नगरेको र नेपाल कम्युनिस्ट पार्टी नेकपाको दलसम्बन्धी विवाद टुंगो नलगाएको भन्दै उनले निर्वाचन आयोगको चर्को आलोचना गरे ।

अदालतमा विचारधीन मुद्दामाथि कांग्रेस र देउवाले टिप्पणी गर्दैनन् भन्दै देउवाले मुद्दा नै प्रभावित हुने गरी चुनावको रटान लगाए । संविधानभन्दा माथि चुनाव भएको निष्कर्षमा पुगेका देउवाले कार्यकर्तालाई भने, ‘एकपटक, दुईपटक होइन, तीनपटक मतदाताका घरघर पुगेर भोट माग्नुस्, उहाँहरूले भोट दिनुहुन्छ, कांग्रेसले चुनाव जित्छ ।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय गरेको छ । पार्टीका धेरै नेता पहिला संविधान अनि चुनाव भनिरहेका छन् । तर, केही संवैधानिक नियुक्तिमा समेत भागबण्डा पाएका देउवालाई ओलीले संविधान कुल्चिएकोप्रति कुनै खेद छैन । बरु, नेकपा विभाजित भएको अहिलेको विषम परिस्थितिलाई अवसरमा बदल्न उनी उद्यत छन् ।

पार्टीका अन्य नेता भने संसद विघटनको विरोधमा आवाज उठाइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार नै धादिङमा आयोजित कार्यकर्ता भेलामा कांग्रेसले पहिला संविधान र लोकतन्त्र हेर्ने अनि मात्र चुनाव हेर्ने बताए । कांग्रेसमा निष्ठावान नेता मानिने पौडेलले भने, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति भवन जाँदै गर्दा मैले भनेको थिएँ, महामहिम राष्ट्रपति महोदय प्रधानमन्त्रीले सिफारिस गलत ढंगले गरिरहेका छन् । संविधान कुल्चेर आएको छ, सिफारिस भनेको थिएँ तर राष्ट्रपतिले यस्ता कुनै कुरा नसुनेर प्रधानमन्त्रीको सिफरिसलाई केही समय नै नकुरेर सदर गरिदिनुभयो । योभन्दा दुर्भाग्यपूर्ण अवस्था के हुनसक्छ ? ‘

विगतका संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहेको र हरेक पटक संसद विघटन हुँदा मुलुकले क्षति व्यहोरेको, पार्टीहरुले क्षति व्यहोरेका उनले बताए । ‘प्रतिनिधिसभा विघटनलाई मैले कहिल्यै पनि राम्रो भनेको छैन, संविधानले दिएको अधिकार प्रयोग गरेर विगतका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्दा पनि म विपक्षमा उभिएको थिएँ,’ उनले भने, ‘गिरिजाबाबुले संसद विघटन गर्दा माओवादी जन्मने अवसर आयो । शेरबहादुर देउवाले गर्दा ज्ञानेन्द्रको निरंकुश सत्ता आएको थियो । संसद जति पटक भंग भयो, त्यति पटक मुलुक र लोकतन्त्रलाई घाटा भएको छ, प्रत्येक चोटी संसद विघटनमा राष्ट्रलाई क्षति भएको छ । यो सबै भुक्तभोगी भएर हामीले संविधान सभाबाट संविधान बनाउँदा राजनीति स्थिरताका लागि प्रधानमन्त्रीको सनकमा संसद भंग गर्ने अधिकार राख्न हुँदैन भनेर केपी ओली, प्रचण्ड हामी सबै मिलेर, सहमत भएर संविधान बनाएका हौं ।’

संसदले प्रधानमन्त्री चुन्नै सकेन भने मात्रै संसद विघटन हुनसक्ने उनको तर्क छ । ‘अहिले केपी ओली यो मेरो राजनीति निर्णय हो, मैले राजनीतिक निर्णय लिएर संसद विघटन गरेको हुँ भन्नुहुन्छ, अनि न्यायाधीशलाई संविधान नपल्टाउनुस्, मैले राजनीतिक निर्णयले संसद भंग गरेको हुँ, अनि प्रधानमन्त्रीका वकिलहरु प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई भन्दा बढी अधिकार छ भनेर अदालतमा निर्लज्ज ढंगले बहस गर्छन्,’ वरिष्ठ नेता पौडेल भन्छन्, ‘राजाहरुले हामीमा अन्तर्निहित अधिकार भन्दै लाद्ने निरकुंश निर्णयलाई नेपाली जनताले अस्वीकार गर्दै गणतन्त्र ल्याएका हुन् । राजामा दैविशक्ति हुन्छ भन्ने राजतन्त्रको मान्यतालाई हामीले फालेका हौँ । आज कहाँबाट आयो महेन्द्र र मोहन शमशेरको अधिकार प्रधानमन्त्रीलाई ? यो अवस्थामा सर्वोच्च अदालतले संसद विघटन कसरी सदर गर्नसक्छ ? न्यायमूर्तिहरुले कसरी यो विघटन ठिक हो भन्न सक्नुहुन्छ ? ‘

आफूलाई पत्रकारहरुले संसद विघटनलाई सर्वोच्च अदालतले सदर गरिदियो भने तपाईं के गर्नुहुन्छ भनेर सोधेको स्मरण गर्दै उनले भने, ‘म त्यो बेला म प्रश्न गर्छु, यो देशमा न्याय छ कि छैन ? न्याय जिउँदो छ कि छैन ? संविधान पल्टाएर संविधान पढेर फैसला गर्ने न्यायमूर्तिहरु हुनुहुन्छ कि हुनुहुन्न ? ‘

अदालतको काम भनेको संविधानको व्याख्या गर्ने भएको उनले स्पष्ट पारे । ‘हाम्रो संविधानले अदालतलाई संविधानको व्याख्याता भनेको छ, त्यो अधिकार सर्वोच्च अदालतलाई संविधानले दिएको छ । स्वेच्छचारी शासन चलाउने प्रधानमन्त्रीको इच्छालाई कसरी सर्वोच्चले स्वीकार गर्न सक्छ ?’ उनले पटक‑पटक प्रश्न गरे ।

सभापति देउवालाई लक्षित गर्दै उनले भने, ‘म कांग्रेसका साथीहरुलाई पनि आग्रह गर्छु, संसद भंग भयो, अब यो क्षेत्रमा, त्यो क्षेत्रमा सबैतिर बहुमत होइन । म त यो संविधान बनाउन ६० वर्ष संघर्ष गरेको, संविधान सभामा कम्युनिस्टसँग संसदीय व्यवस्था राख्नका लागि लडेको मान्छे हो । लोकतान्त्रिक संविधान बनाएको, जनतालाई सबैभन्दा शक्तिशाली बनाउनका लागि हो, कसैलाई महेन्द्र र मोहनशमशेरको जस्तो अधिकार दिनका लागि ७० वर्षको लडाइँबाट संविधान बनाएको होइन । लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री कोही पनि सर्वेसर्वा हुँदैन, त्यसो भएकाले कांग्रेसले सबैभन्दा पहिला लोकतन्त्र हेर्छ, सबैभन्दा पहिला संविधान हेर्छ । संविधान जोगाएर, लोकतन्त्र जोगाएरमात्र कांग्रेस चुनाव हेर्छ ।’

कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले पनि सभापति देउवाले चुनावको रटान लगाएर गलत गरिरहेको टिप्पणी गर्दै आएका छन् । अर्का शीर्ष नेता कृष्णप्रसाद सिटौलाले पनि संविधानभन्दा ठूलो चुनाव हुन नसक्ने बताएका छन् । नेताहरू डा. मीनेन्द्र रिजाल, गगन थापाहरू पनि संविधान बचाएरमात्र चुनावमा जानुपर्ने तर्क गरिरहेका छन् ।

राजनीतिक विश्लेषकहरूले कांग्रेसका नेताहरूबीच नै फरक धारणा र दृष्टिकोण बन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनीहरूले सभापति देउवाकै कारण सर्वोच्चलाई प्रधानमन्त्री ओलीको गलत कदमको पक्षमा फैसला गर्न बल पुग्ने न होइन ? भन्दै आशंका व्यक्त गरिरहेका छन् ।

प्रकाशित समय ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु