गृहपृष्ठ बन्दीपुर गाउँपालिकामा ५५ करोड पाँच लाखको बजेट पारित
बन्दीपुर गाउँपालिकामा ५५ करोड पाँच लाखको बजेट पारित
तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कूल ५५ करोड पाँच लाख ८२ हजार ४०० रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।
गाउँसभाले पुँजीगततर्फ १४ करोड ५३ लाख ८२ हजार ४४० रुपैयाँ, सामाजिक सुरक्षाभत्तातर्फ नौ करोड रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ १६ लाख रुपैयाँ, चालू खर्चतर्फ पदाधिकारीको पारिश्रमिक र सुविधातर्फ एक करोड १५ लाख रुपैयाँ, कर्मचारी पारिश्रमिक र अन्य प्रशासनिकतर्फ दुई करोड ७२ लाख रुपैयाँ, कार्यालय सञ्चालनतर्फ एक करोड ३३ लाख रुपैयाँ र विविध खर्चतर्फ एक करोड आठ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।
गाउँपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट चार करोड तीन लाख ४५ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य लिएको छ । उपाध्यक्ष गुरुङका अनुसार सम्पत्ति करबाट ३५ लाख ४६ हजार रुपैयाँ, घरबहाल करबाट १५ लाख रुपैयाँ, बहाल बिटौरी करबाट २० लाख रुपैयाँ, व्यवसाय करबाट १३ लाख २५ हजार रुपैयाँ, सेवा शुल्कबाट १६ लाख ९४ हजार रुपैयाँ, घरनक्सा दस्तुरबाट आठ लाख ४६ हजार रुपैयाँ, नाता प्रमाणितबाट एक लाख आठ हजार रुपैयाँ र ढुंगा गिट्टीबाट ३० लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य लिइएको छ ।
त्यस्तै संघीय सरकार वित्तीय समानीकरणवापत नौ करोड चार लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट छ करोड रुपैयाँ, सशर्त अनुदानबाट १७ करोड चार लाख रुपैयाँ, विशेष अनुदानबाट चार करोड ७५ लाख रुपैयाँ, प्रदेश सरकारबाट वित्तीय समानीकरणवापत एक करोड १९ लाख रुपैयाँ र राजस्व बाँडफाँडबाट ६९ लाख ६६ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।
‘पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार’ लाई मुख्य नारा बनाएर गाउँपालिकाले कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार गाउँ प्रमुखसँग रोजगार कार्यक्रम, बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुलो वितरण, एक लिटर दूध उत्पादनमा एक रुपैयाँ अनुदान कार्यक्रमलाई समेत आगामी वर्षको कार्यक्रममा समेटिएको थापाले जानकारी दिए ।
प्रकाशित समय ०७:१६ बजे

















