गृहपृष्ठ सरकारद्वारा विभिन्न विधाका प्रतीभा पुरस्कृत

सरकारद्वारा विभिन्न विधाका प्रतीभा पुरस्कृत

Pursakar_NewsKarobar

सरकारले नेपाली साहित्यमा योगदान पुर्‍याउने स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विभिन्न स्रष्टालाई सम्मान गरेको हो ।

पुष्पलाल राष्ट्रिय पुरस्कार , महाकवि देवकोटा राष्ट्रिय पुरस्कार , भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरिएको हो ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्रष्टाको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको बताए ।

कुन विधामा कसले पाए?

Bharav Rishalपुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधातर्फ कपिलवस्तुका डा माधवराज पन्थी सम्मानित भए भने साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौंको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मानित गरिएको छ ।

यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधाअन्तर्गत तेह्रथुमका मोहन सिटौला, निबन्ध विधातर्फ दाङका प्रा केशव सुवेदी, गद्याख्यान/नाटकतर्फ काठमाडौंका पद्मावती सिंह, बाल साहित्य/लोक साहित्यतर्फ दैलेखका डा मधुसूदन गिरी र भाषासाहित्यतर्फ भक्तपुरका भैरव रिसाल सम्मानित भए ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ कातर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणेपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार सम्मानित भए ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा घनश्याम उपाध्याय कँडेल सम्मानित भएका छन् ।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश नं २ बाट धनुषाका डा‍. रामसागर पण्डित, बागती प्रदेशबाट ललितपुरका डा गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा ज्ञानबहादुर कार्की, प्रदेश नं ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित भएका छन् ।

भाषा साहित्य विधातर्फ प्राडा दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरे । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट खोटाङका सुरेश हाँचेकाली, प्रदेश नं २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश नं ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित भएका छन् ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गरे । प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश नं १ बाट सुनसरीका जीवनाथ पोखरेल, प्रदेश नं २ बाट धनुषाका सरितादेवी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश नं ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्द सम्मानित भए ।

सङ्गीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिरहाका सत्यनारायण चौधरीले प्राप्त गरे । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश नं २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, बागमती प्रदेशबाट रामेछापका केशर कालीकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाईँ सम्मानित भए ।

यी सबै पुरस्कारको राशि राष्ट्रिय तथा संस्थागततर्फ रु एक लाख र प्रादेशिकतर्फ रु ५० हजार रहेको मन्त्रालयले जनाएको छ । (रासस)

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु