गृहपृष्ठ सेयर बजारमा दैनिक १ अर्बभन्दा बढीको कारोबार
सेयर बजारमा दैनिक १ अर्बभन्दा बढीको कारोबार
सेयर बजारमा दैनिक १ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच हुन थालेको छ । लकडाउनका कारण बन्द भएर तीन महिनापछि खुलेको बजारमा दैनिक १ अर्ब रुपैयाँमाथिको कारोबार हुन थालेको हो ।
सोमबार १८४ कम्पनीको ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर १ अर्ब ८ करोड रुपैयाँमा किनबेच भयो । आइतबार १ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
गत साता पनि औसत १ अर्बभन्दा माथिको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार १ अर्ब ३ करोड, सोमबार ९२ करोड ८७ लाख, मंगलबार १ अर्ब २१ करोड, बुधबार १ अर्ब ७ करोड र बिहीबार ९० करोड ८० लाख रुपैयाँका सेयर किनबेच भएको छ । लकडाउनअघि कारोबार रकममा भारी गिरावट थियो ।
सेयर बजार बढ्यो
आज सेयर बजार २ अंकले बढेको छ । होटल, वित्त, अन्य र जीवन बिमा समूह नकारात्मक बने पनि अन्य समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से २.१२ अंकले बढेको हो । सबैभन्दा धेरै लघुवित्त र म्युचुअल फन्ड समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् ।
सोमबार नेपाल सेवा लघुवित्त, एनआईसी एसिया लघुवित्त र सानिमा बैंक लिमिटेडको डिबेन्चर १० प्रतिशतले बढेको छ भने गुराँस लघुवित्त, सूर्योदय लघुवित्त र मिथिला लघुवित्त ९ प्रतिशतभन्दा अधिकले उकालो लागेका छन् । सर्वाधिक बढ्न १० कम्पनीको सूचीमा नेडेप लघुवित्त, सानिमा इक्विटी फन्ड, ग्रामीण विकास लघुवित्त र राधी विद्युत कम्पनी पनि परेका छन् । आइतबार सेयर बजार ९ अंकले बढेको थियो ।
प्रकाशित समय २१:३० बजे

















