गृहपृष्ठ गोदाममा चामल भरिभराउ, त्रिपालमुनि भोकै पहिरो पीडित

गोदाममा चामल भरिभराउ, त्रिपालमुनि भोकै पहिरो पीडित

पहिरो गएको चार दिनपछि छलफल, उद्धार कार्यको जिम्मा स्थानीय प्रहरीलाई लगाउँदै सेना र सशस्त्र प्रहरी फर्किए

जाजरकोटको बारेकाटमा पहिरोमा बेपत्ताको खोजी गदै प्रहरी । ( फाइल तस्बिर)

गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५०० भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन् ।

ठेकेदारले स्वीकृत कोटा एक हजार ५७ क्विन्टल चामल यो आर्थिक वर्षका लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ । सदरमुकामको गोदाममा भने भरिभराउ चामल छ । ठेकेदारलाई जतिपटक चामल लिन आग्रह गरे पनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुखले नै बदमासी गर्ने ठेकेदारलाई जोगाउने गरेको प्रजिअ पन्तको भनाइ छ । ‘बारेकोटमा नयाँ ठाउँमा खाद्य डिपो स्वीकृत भएर आयो तर चामल आएन,’ जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले भने ।

एक महिनादेखि रित्तो रहेको डिपोमा चामल लिन आएका सर्वसाधारण पनि रित्तो हात फर्केका छन् । विद्यालय तथा पाल हालेर खुलाचौरमा ज्यान जोगाउन बसेका सर्वसाधारण खानेकुराको अभावमा भोकै बस्नुपरेको बारेकोट गाउँपालिका ५ का मोहनजंग शाहीले बताए ।

पहिरो गएको चार दिनपछि राहत लिन छलफल

पहिरो गएको चार दिनसम्म वनमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकप्टरमा ल्याएको दुई हजार ३०० किलो राहतबाहेक अन्य कसैले पनि राहत वितरण नगरेको सर्वसाधारणको गुनासो छ । मन्त्री बस्नेतको पहलमा उपलब्ध भएको सो राहतले केही समस्या टरेको छ । चार दिनपछि सदमुकाम खलंगामा विपद् व्यवस्थापन समितिको बैठक बसी राहत सामग्री ल्याउने विषयमा छलफल भएको छ । गाउँगाउँमा सर्वसाधारण बाँच्नका लागि जंगलमा पाल टाँगेर आधा शरीर भिज्दै बसिरहेका बेला सदरमुकाममा भने बल्ल चार दिनपछि सामान्य छलफल सुरु भएको हो ।

बारेकोट ४ सार्कीटोलमा खानेपानीदेखि ओतिने त्रिपालसम्म नहुँदा एउटै पालमा १५ जनाभन्दा बढी बस्नुपरेको स्थानीय कालीबहादुर सार्कीले बताए । प्रदेश सरकारले राहतका लागि कुनै पनि पहल नगरेको गाउँपालिकाले जनाएको छ । तीन तहका सरकारले ५०० नागरिकलाई ओत लाग्नेसम्मको व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको सर्वसाधारणको भनाइ छ ।

विद्यालयको भुइँ कोठामा मानिस खाँदिएर बस्दा बिरामीसमेत पर्न थालेको रमित सार्कीले बताए । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहदेखि वडाध्यक्षसम्म विस्थापित भएका छन् । बाटो भत्किएका कारण राहत सामग्री ल्याउन मुस्किल भएको प्रमुख जिल्ला अधिकारी पन्तको भनाइ छ । कुन ठाउँमा के भएको छ भन्ने थाहा नहुने अवस्था सिर्जना भएका कारण जिल्लाका मुख्य ठाउँमा सूचना केन्द्र स्थापना गर्नका लागि पहल सुरु भएको छ ।

घरमा भएको अन्नसमेत खान पाइएन

खोलामा भएको पानीघट्ट सबै बग्दा घरमा भएको अन्नसमेत पिसेर खान नपाएको सर्वसाधारणले गुनासो गरेका छन् । ‘डिपोमा चामल छैन, एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था पनि छैन, कसरी बाँच्नु ?’ बारेकोट ५ का ६१ वर्षीय जनक शाहीले भने ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त ९० थान त्रिपाल भेरी नगरपालिकाले ढुवानी भाडा व्यहोर्ने गरी आज पठाउने तयारी भएको प्रजिअ पन्तले बताए । खाद्यान्न पठाउनका लागि कुनै पहलसमेत भएको छैन । बारेकोट बर्सेनि यही समयमा खाद्यान्न अभाव हुने ठाउँ हो । बारेकोट ४ मा एक र वडा नं ६ मा दुई बेपत्ताहरु अझै फर्केका छैनन् । सेना र सशस्त्र प्रहरी उद्धार कार्य स्थानीय प्रहरीलाई जिम्मा दिँदै सोमबार सदरमुकाम फर्किएको छ ।

(हेमन्त केसी/रासस)

प्रकाशित समय ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु