गृहपृष्ठ हराएका २५ मोटरसाइकल भेटेर धनीलाई जिम्मा

हराएका २५ मोटरसाइकल भेटेर धनीलाई जिम्मा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटाइएका ट्राफिक प्रहरीको टोलीले हराएका मोटरसाइकल बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएका हुन् ।

उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रिनल्यान्ड, हात्तीगौंडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, वाँनियाटार, टिचिङ अस्पताल, कोटेश्‍वर, गौरीधारा, कोटेश्‍वर,  कुमारीपाटी, गोकर्णेश्‍वरलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीको जिम्मा लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए । चोरीबाट बच्न सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि उनले सुझाव दिए ।

महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा मात्रै चोरी भएका ३६८ मोटरसाइकल फेला पारी सम्बन्धित धनीको जिम्मा लगाइसकेको छ भने ३७ जनालाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारबाही गरिसकेको जनाएको छ ।

प्रकाशित समय १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु