गृहपृष्ठ निजी विद्यालयले अनलाइन कक्षा बन्द गर्ने, शिक्षकलाई बेतलबी बिदा
निजी विद्यालयले अनलाइन कक्षा बन्द गर्ने, शिक्षकलाई बेतलबी बिदा
निजी विद्यालयहरुले साउन १ देखि वैकल्पिक सिकाइ (अनलाइन कक्षा) बन्द गर्दै शिक्षकहरुलाई बेतलबी बिदामा राख्ने भएका छन् । निजी विद्यालय सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनको बुधबार संयुक्त बैठकले साउन १ देखि नै लागू हुनेगरी यस्तो निर्णय गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको बैकल्पिक पठनपाठन बन्द गर्न निर्णयमा पुगेका हुन् । प्याब्सन र एनप्याब्सनले असार १४ गते शिक्षामन्त्री गिरीराज मणि पोखरेललाई मागपत्र बुझाएका थिए ।
प्याब्सन तथा एनप्याब्सनले ७ असारमा नियमित अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्न अभिभावकहरुलाई आह्वान गरेको थियो । तर त्यसको चौतर्फी विरोध भयो । सरकारले पनि अनलाइन कक्षाका नाममा शुल्क नदिन निर्देशन दियो । ‘हामीसँग कक्षा सञ्चालन गर्ने सामर्थ्य रहेन,’ एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘जुन दिन सरकारले हाम्रो माग सम्बोधन गर्छ, त्यो दिनबाट फेरि कक्षा सुरु गरौंला ।’
प्याब्सन र एनप्याब्सनले साउन १ देखि विद्यालय खोल्न पाउनु पर्ने, विद्यार्थी भर्ना गर्न पाउनु पर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनु पर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनु पर्ने लगायतका माग राखेका थिए ।
विज्ञप्ति :


प्रकाशित समय १७:५५ बजे

















