गृहपृष्ठ तेस्रो दिन पनि नेपाल औषधी उत्पादक संघको धर्ना

तेस्रो दिन पनि नेपाल औषधी उत्पादक संघको धर्ना

नेपाल औषधी उत्पादक संघले बुधबार पनि शान्तिपूर्ण धर्ना दिएको छ । सात बुँदे माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएको संघले बुधबार पनि औषधी विभागअगाडि धर्ना दिएको हो ।

विगतमा सम्झौता पूरा गर्न सरकारले बेवास्ता गरेको भन्दै संघ आन्दोलित भएको हो । सरकारले विभिन्न वहानामा नेपाली उद्योगहरुको हितविरुद्ध गरेका निर्णय तत्काल फिर्ता लिन संघले आग्रह गरेको छ ।

संघले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर विभिन्न समयमा सरकारले गरेका निर्णय कार्यान्वयन गर्न १८ बुँदे मागसहितको पत्र बुझाइसकेको छ । सरकारले बिनादर्ता र गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्न दिएपछि औषधी उत्पादकहरु आन्दोलित भएका हुन् ।

स्यानिटाइजरमा नेपाली औषधी उद्योग आत्मनिर्भर भइसकेको हुँदा बिना दर्ता र गुणस्तर परीक्षण बिना बिक्री गर्ने निर्णय फिर्ता लिनुपर्ने, ३० वटा औषधी आयात नगरी कच्चापदार्थ मात्र आयात गर्ने निर्णय तत्काल कार्यान्वयनमा लैजान पनि संघले आग्रह गरेको छ । ‘विदेशीले कठिन समयमा औषधी निकासी रोक्ने तर सरकारले आत्मनिर्भर भइसकेको औषधी रोक्न किन नसक्ने ?’ संघका महासचिव विप्लव अधिकारीले भने, ‘नेपालीे उद्योगको विकास गर्न र देशलाई औषधीमा आत्मनिर्भर बनाउन, कोरोनाभाइरसको समयमा गुणस्तरीय उत्पादनमात्र बजारमा बिक्री गर्नुपर्नेमा सरकारको निर्णयले जनताको स्वास्थ्यमा असर पुग्ने स्थिति आएको छ ।’

संघको विरोध कार्यक्रमलाई नेपाल आयुर्वेद उत्पादक संघ, निर्यात व्यवसायी महासंघ, कम्प्युटर एसोसिएसन नेपाल, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल जेम्स एन्ड ज्वेलरी एसोसिएसनलगायतले समर्थन गरेका छन् ।

प्रकाशित समय १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु