गृहपृष्ठ वृद्धावस्थामा सत्ता होइन, आराम गर
वृद्धावस्थामा सत्ता होइन, आराम गर
चिनिया नयाँ वर्षको सुरुवातसँगै उहीँबाट सल्किएको कोरोनाभाइरसको ज्वाला संसारका कुनाकाप्चा हुँदै जब नेपाल प्रवेश गर्यो, त्यहीँबाट सुरु भयो लाडाउनको चर्चा । जतिखेर कोरोना नेपाल भित्रियो, उसले संसारका शक्तिशाली राष्ट्रहरुलाई समेत हम्मेहम्मे पारिसकेको थियो भने यसबाट नेपाल अछुतो रहन सक्ने सम्भावना नै रहेन । जसका बाबजुद सरकारले बिना तयारी नै अरुको देखासिकी गर्दै लकडाउन घोषणा गर्यो । जुन हतास मानसिकताबाट लकडाउन घोषण सरकारले गर्यो, त्यसको उपज आमजनताले पाएजति सकस कसैले पनि पाउनु नपरोस्, त्यति पीडा जनताले प्रत्यक्ष भोग्नुपर्यो । हामीले यस्तो पीडा सायद कहिल्यै भोगेका पनि थिएनौँ र कसैले भोग्नु पनि नपरोस् । भगवानसँग कामना गरौँ ।
जनता यता कोरोनाको डरले घरभित्रै थुनिएको अवस्थामा समेत सरकारले स्वास्थ्य सामग्री खरिदमा गरेको घोटाला र सरकार गिराउने र जोगाउने खेलले सरकार सञ्चालकहरुले आफ्नो धज्जी आफैँ उडाउन व्यस्त रहेका नेकपाका नेताहरुको ताउ देखेर जनताले भने भीरबाट लड्न लागेको गाईलाई काँध थाप्न सकिँदैन राम राम मात्र भन्ने हो जस्तो भयो । जनताले पाँच वर्षको म्यान्डेड दिएको सरकारलाई विपक्षीले साथ दिँदादिँदै पनि आफ्नै पार्टीमा भागबन्डा नमिलेर आ‑आफैँ लुछाचुँडीमा लागेका नेकपाका नेताहरुलाई अब पनि जनताले कसरी विश्वास गर्ने ? यहाँनेर गम्भीर प्रश्न खडा भएको छ।
हरेक पाइलामा लुट मच्चाएर कार्यकर्ता पोस्ने संस्कारको अन्त्य नभएसम्म जनु पार्टीले सरकार चलाए पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ मात्र हुनेछ । सत्ताबाहिर हुँदाका सिंहहरु सत्तामा आएपछि ‘लुते कुकुर’को जस्तो आचरण देखाउँछन् । यस्ता नेतृत्वबाट देशले समृद्धि हासिल गर्छ भनेर डिक हाँक्नु दिवा सप्नमात्र हो । देशले कोल्टे फेर्न अब नेताको मृगौला फेरेर हुँदैन यी सबै पुराना नेता नै फेर्नुपर्छ । वृद्धावस्थाका नेताहरु अब वृद्धभत्ता खाएर घरमै आराम गरी युवा नेतालाई सत्ताको बागडोर तत्कालै सुम्पनुपर्छ । अन्यथा देश सधैँ यस्तै चक्रव्युहमा फसिरहन्छ । हामी सधैँ नेतालाई गाली गरी नै रहनेछौँ ।
(लेखक राष्ट्रिय व्यापार संघका महासचिव हुन् ।)
प्रकाशित समय १४:५९ बजे

















