गृहपृष्ठ सडक सुधारमा विश्व बैंकको ५४ अर्ब रूपैयाँ ऋण

सडक सुधारमा विश्व बैंकको ५४ अर्ब रूपैयाँ ऋण

The World Bank_NewsKarobar

नेपालको यातायात पूर्वाधारको दक्षता अभिवृद्धि र सुरक्षा सुधारका लागि विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रूपैयाँ) ऋण दिने भएको छ । यो ऋणसम्बन्धि  सम्झौतामा शुक्रबार नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । यो एउटै आयोजनामा सबैभन्दा ठूलो रकमको सहयोग भएको परियोजना हो ।

सडकबाहेक यो ऋण सहयोगबाट  सीमापार व्यापारको दक्षता सुधार गर्न र रणनीतिक सडक सञ्जाल व्यवस्थापनको क्षमता अभिवृद्धि गरिने जनाइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थसचिव  शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।

अर्थमन्त्री डा. खतिवडाले यो आयोजनाले सीमापार बजार लगायत सडक संजालको विस्तार र राष्ट्रिय एकीकरणलाइ बढावा दिदैं कोभिड-१९ पश्चातको आर्थिक पुनरुत्थानलाइ सघाउने बताए ।

नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्व रहेको प्रसंग उठाउँदै माननीय अर्थमन्त्रीले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाइ तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र उच्च-गुणस्तरीय पूर्वाधारहरूको महत्व सर्वव्यापी रहेको बताए ।

अर्थ मन्त्रालयका सचिव ढुंगानाले आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दुहरूमार्फत सामानहरू ढुवानी गर्ने समय र लागत घटाउनुका साथै विशेषगरि कोभिड-१९ पश्चातको अवस्थामा आर्थिक वृद्धिलाई द्रुत तथा दिगो बनाउनमा आयोजना केन्द्रित रहने बताए ।

विश्व बैंकका अनुसार यो रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाले भारत लगायतका छिमेकी राष्ट्रहरूसँग सम्पर्क सञ्जाल तथा व्यापार वृद्धि गर्न सघाउनेछ ।

यसले नागढुंगा-नौबिसे-मुग्लिंग खण्डलाई सुधार गर्नुका साथै कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउने जनाइएको छ । यसैगरी विद्यमान व्यापारिक सेवालाई सहज बनाउनुका साथै कृषिजन्य निर्यातलाई प्रवर्द्धन गर्नका लागि यस आयोजनाले सीमा-नाकाहरूमा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्ने बैंकले जनाएको छ ।

कोभिड-१९ संकटका बावजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाइ यस आयोजनाले सघाउने बताउँदै रणनैतिक सडक सञ्जालको सुरक्षा तथा उत्पादनशील सुनिश्चितता तथा क्षेत्रीय व्यापार तथा सम्पर्क सञ्जालको सहजीकरण गर्न तथा रोजगारका अवसरहरूको सिर्जना गर्न आयोजनाले सहजीकरण गर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक  हदाद-जर्भोसले बताए ।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु