गृहपृष्ठ निकुञ्जभित्र भेटियो बेपत्ता युवकको कंकाल

निकुञ्जभित्र भेटियो बेपत्ता युवकको कंकाल

गत फागुनमा हराएका सुर्खेतका एक युवाको कंकाल भेटिएको छ । सुर्खेतको बराहताल गाउँपालिका– १, सम्सेलीका ३० वर्षीया युवाको भरुवा बन्दुकसहित कंकाल फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इन्स्पेक्टर गोपाल रायमाझीको नेतृत्वमा खटिएको टोलीले बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको जंगलमा शिवराम रानाको कंकाल फेला पारेको हो । आइतबार पत्रकार सम्मेलन गरी सुर्खेत प्रहरीले रानासँगै गएका अरु दुईजनालाई समेत पक्राउ गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले मानव कंकालसहित हसियाँ, भरुवा बन्दुक एक थान, छर्रा र उनका कपडा फेला पारेको जानकारी दिए । ‘२०७६ साल फागुन १० गते हराएको भन्दै उनकी श्रीमती मनमाया रानाले खोजी गरीपाउँ भनी प्रहरीमा निवेदन दिएकी थिइन्,’ एसपी भट्टले भने, ‘सोही निवेदनको आधारमा हामीले खोजी गरेका थियौं तर फेला पार्न सकेनौं । मृतक रानासँगै अन्य २ जना पनि हराएका हुँदा हामीलाई खोज्न समस्या भएको थियो ।’

प्रहरीका अनुसार मृतक रानासँगै सोही स्थानका यामबहादुर सम्सेली र सुर्यबहादुर वलीसमेत जंगल गए पनि घटनापछि उनीहरु भने भारततर्फ गएका थिए । लकडाउन खुला भएपछि भारतबाट नेपाल फर्किएका उनीहरु विरुद्ध मृतक रानाकी श्रीमतीले असार १६ गते दुवै जनाले श्रीमानलाई वेपत्ता पारेको आरोप सहितको किटानी जाहेरी दिएपछि सोही जाहेरीका आधारमा खोजी गर्न बर्दिया गएको भट्टले बताए । प्रहरीले खोजी गर्दा रानाको कंकालसहित सामानहरु भेटाएपछि दुईजनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

उनका अनुसार अहिले मनमायाले दुवै जनाविरुद्ध कर्तव्य गरी ज्यान मारेको जाहेरी दिएकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु