गृहपृष्ठ नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय गठन

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय गठन

नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको निर्णय बमोजिम मुलुकको संघीय संरचनाअनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य सुरु गरेको छ ।

कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुने गरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगर, प्रदेश २ को वीरगञ्ज, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ भैरहवा, कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रादेशिक निर्देशनालय अत्तरियाको स्थापना गर्ने निर्णय गरिसकेको छ ।

यस बमोजिम कम्पनीले आज साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचनाअनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा गण्डकी प्रदेशमा रुपान्तरण गरेको हो ।

सो अवसरमा साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय पोखरा गण्डकी प्रदेशको सुरुवात गरे ।

उक्त अवसरमा निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेजहरु हस्तान्तरण गरेका छन् ।

पोखरामा आयोजित उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पठाएको शुभकामना सन्देश बाचन गरिएको थियो । शुभकामना सन्देशमार्फत् प्रबन्ध निर्देशक अधिकारीले एफटीटीएच वितरणको मूल लक्ष्यलाई आत्मसात गरी आफ्नो कार्यक्षेत्रमा क्रियाशिल हुन निर्देशन दिएका थिए ।

यसका साथै कार्य सम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागू भइसकेकोले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीहरुको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्ने विश्वास लिएको उल्लेख गरेको प्रवक्ता राजेश जोशीले बताए ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु