गृहपृष्ठ पञ्जाबमा विषाक्त मदिरा सेवनबाट ८० जनाको मृत्यु

पञ्जाबमा विषाक्त मदिरा सेवनबाट ८० जनाको मृत्यु

भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अबैध मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।

भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवनबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । अवैध यस्तो मदिरा स्थानीय बजारमा प्रतिलिटर भारु १० मै पाइने गरेको छ । प्रहरीका अनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ ।

यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको प्रहरीले आशंका गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको संख्या बढी हुनसक्ने प्रहरीको अनुमान छ ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताएका छन् । उनले अवैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारबाही गरिने बताएका छन् ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु