गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० पुग्यो, बुधबार एकैदिन २ को मृत्यु

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० पुग्यो, बुधबार एकैदिन २ को मृत्यु

फाइल तस्बिर ।

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) बाट थप २ जनाको मृत्यु भएको छ । बुधबार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पर्साको पोखरिया- ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज- ५ का ४६ वर्षीय पुरुषको काेराेना संक्रमणका कारण मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लैजाने क्रममा बाटोमै मृत्यु भएको हो र उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको हाे ।

अर्का पुरुषको भने साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि मधुमेहका रोगी रहेको उनी ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । स्वाब परीक्षणमा संक्रमण देखिएपछि आइसोलेसनमा राखेर उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

बुधबार नेपालमा ३८१ जना थपिएपछि कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । थपिएकामध्ये काठमाडौंका ५७ र ललितपुरका ५ रहेका छन् । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको मन्त्रालयले  जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभर ६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेकाे उनले जानकारी दिए ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु