गृहपृष्ठ फेसबुकले हटायो राष्ट्रपति ट्रम्पको ‘कोभिडसम्बन्धी अहितकर झुठो सूचना’

फेसबुकले हटायो राष्ट्रपति ट्रम्पको ‘कोभिडसम्बन्धी अहितकर झुठो सूचना’

सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको सन्देश प्रवाहित गरेका थिए ।

फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई ‘कोभिडसम्बन्धी अहितकर झुठो सूचना’को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ । विश्वकै अग्रणी सामाजिक सञ्जाल फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक र गलत ठहर्‍याउँदै फेसबुक पेजबाट हटाएको यो पहिलोपटक हो । हुन त यसअघि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको पेजमा प्रयोग भएको नाजी प्रतीक चिह्नलाई पनि फेसबुकले हटाएको थियो ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको यो भिडियो अंशमा राष्ट्रपति ट्रम्पले कोभिड- १९ बाट एउटा समूह सुरक्षित रहेको भन्दै गलत दाबी गरिएको फेसबुकका प्रवक्ताले बताएका छन् । उनले कोभिडसम्बन्धी फेसबुकको नीतिविपरीत राष्ट्रपति ट्रम्पको दाबी फेसबुकमा पोस्ट भएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा आफ्नो भनाइको बचाउ गरेका थिए । ‘बालबच्चाहरुले कोभिडलाई सहजै परास्त गर्न सक्छन् भन्ने मेरो धारणा हो । उनीहरुमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ,’ उनले भने ।

स्वास्थ्य अधिकारीहरुले कोभिडको असर जुनसुकै उमेर समूहका व्यक्तिमा हुने जनाउँदै सतर्कता अपनाउन निरन्तर आग्रह गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले गत साता पनि कोभिडसम्बन्धी गलत सूचना प्रवाह गरेका थिए ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु