गृहपृष्ठ अब बोतलको पानी १६ रुपैयाँमै
अब बोतलको पानी १६ रुपैयाँमै
पिउने पानीको अधिकतम मूल्य १६ रुपैयाँ प्रतिबोतल कायम गरिने भएको छ । साथै जारको पानी अधिकतम मूल्य ५० रुपैयाँमा उपलब्ध हुने भएको छ । यो मूल्य भदौ १० पछि लागू हुनेछ ।
नयाँ मूल्य भने काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा मात्र लागू हुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । योभन्दा अगाडि बोतलको पानीको अधिकतम मूल्य २० र जारको पानीको अधिकतम मूल्य ६० रुपैयाँ थियो ।
विभागका निर्देशक, कर्मचारी, नेपाल बोतल वाटर उद्योग संघका पदाधिकारी र उपभोक्ताकर्मी सहितको उपस्थितिमा प्रशोधित पानीको जार तथा बोतलको मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । अहिले निर्धारण गरिएको मूल्य ४ वर्षअगाडि विभागले समायोजन गरिएको मूल्यमा आधारित रहेको उनले बताए ।
निर्धारण गरिएको मूल्यमा व्यवसायीहरुले सहमति जनाएको स्पष्ट पार्दै सबैलाई कार्यान्वयनमा जान सुवेदीले आग्रह गरे । ४ जिल्लाबाट सुरुवात गरिएको र अन्य जिल्लाहरुमा पनि विस्तार गर्दै जाने उनको भनाइ छ । ‘निर्धारण गरिएको मूल्यअनुुुसार बेचेको छ, छैन अनुगमनको लागि जानेछौँ । यदि तोकिएकोभन्दा घटबढ गरी बेचिएको खण्डमा २ देखि ३ लाखसम्मको जरिवाना हुनेछ,’ उनले भने ।
राष्ट्र उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि अहिले निर्धारण गरिएको मूल्य सबैसँगको सहमतिमा कायम भएको बताए । मूल्य निर्धारण गर्नुपूर्व अनुगमनमा गएको र अनुगमनको अध्ययन गर्दा खाद्य ऐनविपरीत जार तथा बोतल पाएको उनले स्पष्ट पारे । साथै बजारमा व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा रहेको उनले बताए ।
त्यही अस्वस्थ मूल्यलाई एकरुपता दिइ नियमन गर्नका लागि मूल्य निर्धारण गर्नुपरेको अध्यक्ष महर्जनको भनाइ छ । उनले सबै व्यवसायीलाई अस्वस्थ प्रतिस्पर्धा हटाउन अनुरोध गरे । नेपाल वाटर उद्योग संघका महासचिव ध्रुव गौत्तमले तोकिएको मूल्यमा पूर्ण सहमति रहेको बताए । समझदारी गरिएको मूल्यअनुसार नै बिक्री गरिनेसमेत उनले प्रतिवद्धता जनाए ।
विभाग, संघको संयुक्त सहमतिमा गत असार २५ गते प्रशोधित पानीको जार तथा बोतलहरुको मूल्य निर्धारण गर्ने कार्यसमिति गठन भएको थियो । त्यही समितिले पानी उद्योगहरुको उपलब्ध सूचीलाई पाँच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रबाट ४/४ उद्योगहरु २१ वटा उद्योगहरुको स्थलगत निरीक्षण गरिएको विभागले जनाएको छ । त्यही निरीक्षणपश्चाताप जार तथा बोतलको पानीको मूल्य निर्धारण गरिएको हो ।
प्रकाशित समय १८:१७ बजे

















