गृहपृष्ठ कोरोनाबाट थप ४ को मृत्यु, मृतक संख्या ७९ पुग्यो

कोरोनाबाट थप ४ को मृत्यु, मृतक संख्या ७९ पुग्यो

धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोरोनाभाइरस (कोभिड- १९) संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । यससँगै नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

बाँकेको कोहलपुर नगरपालिका- २ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । त्यसैगरी पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड संक्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौँ महानगरपालिका- १०, मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

उपत्यकामा ४४ स‍ंक्रमित भेटिए

मुलुकका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ४३४ नमूना परीक्षणमा आज कुल ३३८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । आज सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५/१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात/सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन/तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई/दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक/एक संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

७०.७ प्रतिशत संक्रमित डिस्चार्ज

पछिल्लो २४ घन्टामा १४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना स‌ंक्रमणमुक्त हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । जुन ७०.७ प्रतिशत हो । धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय संक्रमित छैनन् ।

देशभर सक्रिय संक्रमितको संख्या छ हजार ७३८ रहेको छ । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५०० बढी सक्रिय संक्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको संख्या १० हजार ७५९ छ ।

विश्वभर आजसम्म दुई करोड २६ लाख ४३४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सात लाख ३४ हजार २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनालाई जितेर निको हुनेको संख्या एक करोड २९ हजार ७८ रहेको छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु