गृहपृष्ठ पत्रकार बानियाँको ‘रहस्यमय’ निधनबारे छानबिन गर्न पत्रकार महासंघको माग

पत्रकार बानियाँको ‘रहस्यमय’ निधनबारे छानबिन गर्न पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको ‘रहस्यमय’ ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै  महासंघले पत्रकार बानियाँको दु:खद निधनले महासंघ स्तब्ध भएको जनाएको छ ।

‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ । महासंघका पूर्व केन्द्रीय सचिवसमेत रहेका बानियाँको दु:खद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्‍दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको छ ।

गत सोमबारदेखि बेपत्ता बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर क्षेत्रमा फेला परेको थियो । उनी बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसरमा बुधबार बिहान निवेदन परेको थियो ।

लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत बानियाँ गत सोमबार अपरान्हदेखि सम्पर्कविहीन भएका थिए । तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु