गृहपृष्ठ तँ हिँडेको १३ वर्ष बित्यो, कहाँ छस् बाबु ? घर नआए पनि फोन त गर्

तँ हिँडेको १३ वर्ष बित्यो, कहाँ छस् बाबु ? घर नआए पनि फोन त गर्

आमा : कहाँ जान लागेको बाबु ?

छोरो : बाहिर काम छ, फर्किहाल्छु । बरु १५ सय रुपैयाँ दिनु न !

आमा : लौ लैजा ।

छोरो : किन दुई हजार दिनुभ’को ? १५ सय दिनु न पुग्छ ।

आमा : भरे दे न पाँच सय, भइगयो त !

तर, १३ वर्षअघि दुई हजार रुपैया लिएर निस्किएको छोरो आजसम्म फर्किएन । आमाछोराको त्यो वार्तालाप आजका दिनसम्म पनि अन्तिम बनिरहेको छ ।

मनोज भट्टराई भक्तपुरको लोकन्थलीमा जन्मिए । त्यहीँको माटोमा हुर्किए । पढे, बढे । १९ वर्षका भए । एक दिन ‘काम छ’ भन्दै निस्किए र अहिलेसम्म फर्किएनन् ।

आमाबुरा ऋषिराम र नीराले उनलाई कहाँ मात्र खोजेनन् । बाटोमा उसले  लगाएको जस्तै कपडा लगाएको कोही देख्दा छोरो नै हो कि जस्तो लाग्छ । ‘दुई हजार रुपैयाँ लिएर हिँडेको छोरो १३ वर्षसम्म फर्किएन,’ बुधबार साँझ गहभरी आँसु पार्दै नीराले भनिन्, ‘ज्योतिषी र जान्ने भएका ठाउँमा पनि पुगेँ तर सबैले सकुशल छ भन्छन्, के गर्नु आउँदैन ।’

छोरोले फोन मात्र गरिदिए पनि उनलाई पुग्छ । ‘न फोन, न ठेगाना, आमाको मन धेरै गाह्रो हुँदोरहेछ सम्हालिन,’ भक्कानिँदै उनले भनिन्, ‘एक दिन, दुई दिन गर्दै हिँडेको १३ वर्ष बित्यो, कहाँ छ थाहा छैन, घर नआए पनि फोन गरिदिए त भइहाल्थ्यो ।’

भट्टराई परिवारले छोरो खोज्नमा सहयोग गर्न प्रहरी, आफन्त, साथीभाइ सबैलाई आग्रह गर्‍यो तर केही लागेन । ‘भारतमा रहेका आफन्त र छिमेकीहरूलाई पनि आग्रह गरेका छौँ,’ नीराले भनिन्, ‘अहिलेसम्म केही पत्तो लागेन ।’

छोरो भेटिन्छ कि भनेर उनले फेसबुकमा पनि हालेकी छन् । धेरै मानिसले सेयर पनि गरेका छन् । ‘तर, छोरोसम्म त्यो सन्देश पुगेको छैन अथवा पुगेर पनि बेवास्ता भइरहेको छ या छोरो नै सकुशल छैन कि !’ मनमा अनेक कुरा खेलिरहन्छन् । बाटोमा हिँडिरहँदा पनि छोरो भेटिहाल्छ कि भनेर उनका आँखा यताउती डुलिरहन्छन् । ‘खोज्दाखोज्दै १३ वर्ष बित्यो, अझै भेटिहाल्छ कि, टुप्लुक्क आइपुग्छ कि जस्तो लागिरहन्छ,’ उनले भनिन् ।

नीरा भट्टराईको फेसबुकबाट ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु