गृहपृष्ठ वीरगञ्जमा कोरोनाबाट थप १ पुरूषको मृत्यु, मृतकको संख्या २१ पुग्यो

वीरगञ्जमा कोरोनाबाट थप १ पुरूषको मृत्यु, मृतकको संख्या २१ पुग्यो

फाइल तस्बिर ।

समुदायस्तरमा कोरोनाभाइरस संक्रमण फैलिएसँगै भयावह बनेको पर्सा जिल्लाको अवस्था थप गम्भीर बन्दै गएको छ । जिल्लामा दिनानुदिन स‌ंक्रमित थपिनाका साथ संक्रमणबाट मृत्यु हुनेको दरमा पनि वृद्धि भएको छ । साउन लागेसँगै सुरु भएको संक्रमित थपिने र संक्रमणबाट मृत्यु हुने क्रमको लहर टुट्न सकेको छैन ।

शनिबारमात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक ४७ पुरुषको आज बिहान  मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुने पुरुष वीरगञ्ज महानगरपालिका- २० हरपतगञ्जका बासिन्दा हुन् । शनिबार बिहान अचानक श्वासप्रश्वासमा समस्या आएर मुख र नाकमा रगत बग्न थालेपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएकाे थियाे ।

सुरुमा उनलाई अस्पतालमा कोरोनाको शंकास्पद बिरामीहरुलाई राखिने सेमी-आइसोलेसनमा भर्ना गरिए पनि स्वास्थ्यमा केही सुधार नआएपछि आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर, आइसीयूमा उपचार गरिए पनि उपचार सम्भव नभएकाे अस्पतालका मेडिकल सुपारीटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

मृत्युपश्चात पुरुषको स्वाबको नमूना संकलन गरेर पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको डा. उपाध्यायले जानकारी दिए । उनको शव अहिले पनि नारायणी अस्पतालमै राखिएको छ । शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई लगाइएको उनले बताए ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ भने संक्रमितकाे संख्या ११ सय कटेको छ । वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले विगत २१ दिनदेखि निषेधाज्ञा समेत लगाएको छ ।

प्रकाशित समय १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु