गृहपृष्ठ विवाह गर्ने प्रलोभन देखाई किशोरी बेचेको आरोपमा पक्राउ
विवाह गर्ने प्रलोभन देखाई किशोरी बेचेको आरोपमा पक्राउ
१७ वर्षीया किशोरीलाई वेचबिखन गर्ने आरोपित तारकेश्वर नगरपालिका- २, काभ्रेस्थली बस्ने नुवाकोट तादी गाउँपालिका- ३, खरानिटारका २२ वर्षीय राजु तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीले आफू वेचबिखनमा परेको भन्ने जानकारी गराएपश्चात प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती किशोरीलाई तामाङले सधैंभरि माया गर्ने, विवाह गर्ने भन्दै प्रलोभन देखाई प्रेमजालमा फसाएर सुरूमा काठमाडौं गोंगबुस्थित गेष्टहाउसमा लगि पटक-पटक जबरजस्ती करणी गरेपश्चात आफ्नो साथीको जिम्मा लगाएको र उनको साथीले किशोरीलाई गोंगबुबाट ट्याक्सीमा चितवन हुँदै काँकडभिट्टा सिमा नाकाबाट अपरिचित भारतीय पुरुषको जिम्मा लगाएका थिए ।
ती भारतीय पुरुषले किशोरीलाई विभिन्न डरत्रास देखाई शारीरिक तथा मानसिक पीडा दिँदै रोजगार लगाईदिने बहानामा भारतको विभिन्न ठाँउमा लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ । किशोरीले आफू बेचिएको महसुस गरी भागेर एक अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती व्यक्तिले २०७६ असोज महिनामा कैलाली टिकापुरस्थित ईलाका प्रहरी कार्यालयमा बुझाएकोमा उक्त कार्यालयमार्फत नेपाल नामक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात किशोरीलाई आफन्तको जिम्मा लगाइएको उक्त ब्यूरोले जनाएको छ ।
पक्राउ परेका तामाङउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
प्रकाशित समय १८:१८ बजे

















