गृहपृष्ठ पट्रेनीका पहिरो पीडितको बास दुई सातादेखि त्रिपालमुनि

पट्रेनीका पहिरो पीडितको बास दुई सातादेखि त्रिपालमुनि

पहिरोका कारण पट्रेनीका २९ परिवारका १५१ जना विस्थापित

कैलालीको चुरे गाउँपालिका ५ पट्रेनीका नरभान धामी एक सातादेखि पालमुनी बसिरहेका छन् । चुरेको वडा नम्बर ५ कै सडक छेउमा बेल्चप्लान भन्ने स्थानमा नेपाल रेडक्रस सोसाईटी कैलालीले उपलब्ध गराएको पालमुनी उनी बसेका छन् ।

दुई साताअघि गत साउन १७ गते शुक्रबार राति उनको घरको छेउबाटै पहिरो गएपछि उनी विस्थापित भएका हुन् । पहिरोले बस्ती नै जोखिममा छ । अहिले रेडक्रस सोसाइटीले दिएको पालको सहारामा सडक छेउमै बसेको धामीले बताए । उनी दिनभरि बस्तीमा आफनो खेतबारी र पशुचौपाया हेर्न जान्छन् भने रात परेपछि परिवार सहित त्यही पालमुनी बिताउँछन् ।

सोही वस्तीका अर्जुनबहादुर धामी पनि वर्षा नसकिएसम्म पालमै बस्ने तयारीमा छन् । पानी पर्‍यो कि पहिरोको जोखिम छ । बस्तीमा बस्न सक्ने अवस्था नहुँदा वर्षात् नसकिएसम्म यही सडकमा बस्नुपर्ने उनको बाध्यता छ । सो क्षेत्रमा २५ घरपरिवार सडक छेउमा पाल टाँगेर बसिरहेका छन् । फेरि थप चार परिवार पाल टाँग्ने तयारी गरेका छन् ।

सोही बस्तीका जग्गो धामीको घर पनि पहिरोले बगाएको छ । उनी पनि बिस्थापित भएका छन् । उनको ५ जनाको परिवार छ । पहिरोले घर बगाएपछि त्यहाँ बस्न सकिने अवस्था नरहेको उनले बताए । सरकारले पनि हाम्रा बारेमा केही नसोचेको उनले दुखेसो पोखे ।

सडकमै रात बिताइरहेका यकम थापा मगरले पालमुनी बस्न असहज भए पनि पहिरोबाट बँच्न सडकमा आएर बस्नुपरेको दुःखेसो गरे । उनले पहिरोबाट विस्थापित भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्नुपर्ने माग गरे । रेडक्रसबाट उपलब्ध गराइएको पाल देखाउँदै उनले पालबाट केही राहत पुगे पनि दीर्घकालिन समाधान नहुने बताए । बस्तीमा बसेदेखि बाढी तथा पहिरोको समस्या नझेलेका उनी यस वर्षको लगातारको वर्षाका कारण पीडित भए ।

२०५२ सालमा पहिरोका कारण सोही वस्ती बगाएको थियो । त्यतिबेला त्यहाँका बासिन्दा खुटियामा गएर बसेका थिए । बस्ती स्थानान्तरण गरि बाढी तथा पहिरोबाट जोखिममुक्त गराउन सरकारले कार्यक्रम अघि बढाउन स्थानीयको आग्रह छ ।

पट्रेनीका २९ घरका एक सय ५१ जना विस्थापित भएको चुरे गाउँपालिकाका प्रवक्ता नरबहादुर तामाङले बताए । उनले भने, ‘अहिले पुरै घरपरिवार त सडकमै बसोबास गर्न आएका छैनन । हामीले जानकारी पाएसम्म २७ घरपरिवार त्यहाँ सडक छेउमा पाल टाँगेर बसेका छन् भने अन्य घरपरिवार पनि आउने क्रम जारी छ ।’ उनले वडा नम्बर ५ का पट्रेनीसँगै राजवन र गुणीगाउँको वस्ती पनि विस्थापित भएको बताए ।

प्रकाशित समय १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु