गृहपृष्ठ चीनको वुहानमा कोरोना भाइरस : कुनै बेला सुनसान देखिने सहरमा अहिले यस्तो भिड लाग्छ
चीनको वुहानमा कोरोना भाइरस : कुनै बेला सुनसान देखिने सहरमा अहिले यस्तो भिड लाग्छ
वुहानको एउटा साङ्गीतिक कार्यक्रमा हजारौँ व्यक्तिहरू देखिन्छन् । एउटा सांगीतिक उत्सवमा भेला भएका हजारौँ मानिसहरूले रमाइलो गरे । त्यहाँ कसैले पनि मास्क लगाएका थिएनन् । यो चीनको वुहान सहरमा गत सप्ताहान्त देखिएको दृश्य हो । गत वर्षको अन्त्यतिर त्यहीँबाट कोरोनाभाइरस महामारी फैलिन थालेको थियो ।
वुहान माया बीच वाटर पार्कमा रमाइलो गरिरहेका मानिसहरूका तस्बिरहरू अहिले भाइरल भएका छन् । गत ज्यानुअरी महिनमा वुहानमा लकडाउन लाग्दा उक्त सहर पूरै सुनसान भएको थियो । सडकमा न मानिस देखिन्थे, न त सवारीसाधनहरू नै । तर, अहिले नितान्त भिन्न दृश्य देखिएको छ ।
मे महिनाको मध्यदेखि वुहान र पूरै हुबेई प्रान्तमा आन्तरिक रूपमा कसैमा पनि कोरोनाभाइरस सरेको पाइएको छैन । ज्यानुअरी २३ मा लकडाउन लगाइँदा वुहानमा ४०० जनाजतिमा संक्रमण देखिएको थियो। तीमध्ते १७ जनाको मृत्यु भइसकेको थियो । त्यसको एक सातापछि कोरोनाभाइरस मान्छेबाट मान्छेमा सरेको चीन सरकारले पुष्टि गर्यो ।
एक करोड १० लाख जनसख्या भएको सहरको सम्पर्क बाँकी देशसँग विच्छेद भयो । लकडाउन लगाइएका महिनाहरूमा हजारौँ मानिसहरूको परीक्षण गरियो र उनीहरूलाई क्वारन्टीनमा राखियो । मार्च महिनादेखि लकडाउन केही खुकुलो भयो ।
मेमा वुहानमा माध्यमिक विद्यालय खुलेका छन् । एउटा घरबाट एक व्यक्तिलाई घरबाहिर दिनको दुई घण्टा बाहिर जान दिइयो । बिस्तारै पसलहरू खुल्न तथा सार्वजनिक यातायातका साधनहरू चल्न थाले । तर, सबैले एकआपसमा दूरी कायम राख्नुपर्थ्यो र मास्क लगाउनुपर्थ्यो । एप्रिल ८ मा लकडाउन आधिकारिक रूपमै हट्यो ।
पहिला योजना स्थगित गर्न बाध्य जोडीहरूले हतारहतार विवाह गरे । शैक्षिक संस्था, व्यापार(व्यवसाय र सार्वजनिक यातायात सेवाहरू खुले। सबै कुरा सामान्यजस्तो देखिन थाले । तर मे १२ मा छ जनामा फेरि संक्रमण देखियो। उक्त सहरमा बस्ने सबै मानिसको परीक्षण गर्ने योजना बन्यो । महामारी फेरि नियन्त्रणमा आयो ।
जुन महिनामा रात्रिकालीन बजारहरू खुल्न थाले । अनि एक महिनामा चीनका अधिकांश भागमा जनजीवन सामान्य हुन थाल्यो । चलचित्रघरहरूले फेरि खुल्ने अनुमति पाए, केही उद्यान, पुस्तकालय र संग्रहालयहरूलाई आधा क्षमतामा सञ्चालन गर्ने अनुमति दिइयो । ठूला भेलाहरू पनि गर्न पाइने भयो ।
अहिले वुहानमा जनजीवन पूर्ण रूपमा सामान्य भएको देखिन्छ । होहा वटर इलेक्ट्रिक म्यूजिकल फेस्टिभलमा मनोरञ्जन गर्न भेला भएका मानिसहरूका तस्बिरहरूले पनि यो प्रमाणित गर्छन् । कार्यक्रम आयोजकहरूले धेरै मानिस आउून् भनेर महिला पर्यटकहरूलाई आधा मूल्यमा टिकट बेचेका थिए ।
वुहान ह्यापी भ्याली गत जुन २५ मा खुल्यो। तर अगस्ट महिनादेखि त्यहाँ आगन्तुकहरू बढे । सप्ताहान्तमा त्यहाँ १५,००० मानिस जान्छन् । तर गत वर्ष यो बेला उक्त सङ्ख्या दोबर भएको सञ्चालकहरू बताउँछन् । चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यत्रो ठूलो भिड देखेर आश्चर्य व्यक्त गरेका छन् । तर, मे महिनाको मध्यदेखि त्यहाँ स्थानीय रूपमा कसैमा पनि कोरोनाभाइरस सरेको छैन । (बीबीसी नेपालीबाट)
प्रकाशित समय ०९:१९ बजे

















