गृहपृष्ठ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न दबाब बढ्दो

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न दबाब बढ्दो

Kulman_NewsKarobar

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिन दबाब बढेको छ । सामाजिक सञ्जालदेखि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूसमेतले आगामी चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति दिन दबाब दिइरहेको स्रोतले जनाएकाे छ ।

मन्त्रिपरिषद्ले कुलमानलाई नै कार्यकारी निर्देशकमा निरन्तरता दिएको खबर प्राप्त भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक उच्च नेताले न्युज कारोबारलाई बताएका थिए । उनका अनुसार आजैको मन्त्रिपरिषद् बैठकमा कुलमानलाई नै निरन्तरता दिने प्रस्ताव लैजाने सहमति भएको थियो ।

यसअघि नेकपाको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले राजनीतिक नियुक्तिहरूमा सहमतिका आधारमा नियुक्ति गरिने सहमति भएको र दुई अध्यक्षहरूबीच यसैअनुरुप सहमति बनिसकेकाले कुलमान कै निरन्तरताको पक्षमा नेकपाका अधिकांश शीर्ष नेता रहेको उनले बताएका थिए । त्यस्तै मन्त्रीहरूसमेत कुलमानलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए ।

घिसिङको कार्यकाल यही भदाै २९ गते समाप्त हुँदै थियो । उनको कार्यावधि सकिने भएपछि प्राधिकरणमा कार्यकारी निर्देशक घिसिङलाई नै पुनः जिम्मेवारी दिन दाैडधूप चलिरहेको छ । २०७३ साल २९ भदौमा मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।

तत्कालीन समयमा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य गर्न उल्लेखनीय भूमिका खेलेका घिसिङलाई प्राधिकरणको नेतृत्वमा निरन्तरता दिन सर्वसाधारणले विभिन्न माध्यमबाट अभिमत व्यक्त गरिरहेका छन् ।

(यसअघि समाचार स्रोतको असावधानीका कारण समाचार सम्प्रेषणमा त्रुटि हुन गएकोमा क्षमायाचना गर्दछाैँ । – सम्पादक)

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु