गृहपृष्ठ ट्रम्पको उम्मेदवारीलाई औपचारिक मनोनयन, ह्वाइट हाउसबाट उम्मेदवारी घोषणा

ट्रम्पको उम्मेदवारीलाई औपचारिक मनोनयन, ह्वाइट हाउसबाट उम्मेदवारी घोषणा

रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ । यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी हुने भएका छन् ।

ह्वाइट हाउसको परिसरमा स्थानीय समयअनुसार बिहीबार राति भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाएका थिए ।

एक घण्टाभन्दा बढी समय सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी गरे । कोरानाभाइरसको संक्रमणबाट अमेरिकामा मात्र एक लाख ८० हजारभन्दा बढीको मृत्यु भए पनि राष्ट्रपति ट्रम्पले आफूले चालेका सकारात्मक कदमका कारण अझ ठूलो क्षति हुन नपाएको बताए ।

अमेरिकाले अहिले अभूतपूर्व जातीय आन्दोलन, आर्थिक मन्दी र राष्ट्रिय स्वास्थ्य आपतकाल परिस्थितिको सामना गरिरहे पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको भविष्य निकै उत्साहप्रद रहेको जिकिर गरेका थिए । तर, यो उत्साहलाई कार्यरुपमा परिणत गर्न आफूले पुनः चार वर्षका लागि विजयी हुनै पर्ने अवस्था छ, उनले भने ।

उनले पूर्व उपराष्ट्रपति जो बाइडेनले विगत ४७ वर्षमा राष्ट्रलाई पुर्‍याएका क्षतिलाई उल्ट्याउन आफूलाई चार वर्ष लागेको पनि बताए । जो बाइडेनले विगतमा सिनेटर र पूर्व उपराष्ट्रपतिका रुपमा सार्वजनिक सेवा गरेका छन् । राष्ट्रपति ट्रम्पले जो बाइडेनलाई जिताउन चीनले समर्थन गरेकोसमेत बताएका थिए ।

अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण चुनावी कार्यक्रमहरु भर्चुअल बैठक, छलफल र टेलिभिजन सम्बोधनमा सीमित रहे पनि राष्ट्रपतिका दुबै आकाँक्षीले आगामी सातादेखि चुनावी प्रचारलाई तीव्र बनाउने जनाएका छन् । हाल डिलावेयरस्थित आफ्नै निवासमा रहेका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चाँडै चुनावी अभियान सुरु गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको खोप चाँडै उपलब्ध हुने बताउँदै कोरोनाभाइरस महामारीमा विजय हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । चार दिनसम्म चलेको रिपब्लीकन पार्टीको अधिवेशनमा बोल्ने अधिकांश वक्ताले पनि कोरोनाभाइरस महामारी अब इतिहास भइसकेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई अतिवादीको घेरामा परेको बताउँदै डेमोक्र्याटले चुनाव जिते मुलुकमा अस्थिरता बढ्ने, कर वृद्धि हुने, अर्थतन्त्र ध्वस्त हुने तथा चीनजस्ता मुलुकले अमेरिकी रोजगारी खोस्ने बताउएका थिए । जो बाइडेनको “खोक्रो सहानुभूति” प्रति व्यंग्य गर्दै राष्ट्रपति ट्रम्पले मिसिगन, ओहायो, न्यू ह्याम्पसायर, पेन्सिलभेनियाका रोजगारी गुमेका कामदारले बाइडेनका कुरा सुन्नुको साटो आफ्नो गुमेको रोजगारी चाहेको बताए ।

यसैबीच जो बाइडेनले ट्वीट गर्दै भनेका छन्, ‘डोनाल्ड ट्रम्पले नाम लिएका देशभित्रका सबै हिंसाका लागि ट्रम्प नै दोषी छन् । यो उनकै कार्यकालमा भएको छ । राजनीतिक फाइदाका लागि ट्रम्पले हिंसाको सहारा लिएका छन् ।’

प्रकाशित समय ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु