गृहपृष्ठ सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?

सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?

दाङको घोराही उपमहानगरपालिका १४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीको शरीरमा विष चढिसकेको थियो । सबै विधि पुर्‍याएर दुई जनाले लगातार पाँच घण्टा विष चुसेर फालेपछि मोतीको ज्यान बच्यो ।

समाजमा अहिले पनि सर्पले डसेका बिरामीलाई अस्पताल या स्वास्थ्य केन्द्रको आधुनिक स्वास्थ्य उपचारभन्दा वैद्यले नै चुसेर विष झार्ने उपचार पद्धतिले निको हुन्छ भन्ने विश्वास छ । सर्पले डसेका यस्तै प्रकृतिका कैयौँ घटनाको अध्ययन गर्दा निको भएको पनि पाइन्छ । वैद्यहरुसँग उपचार गराउनेको संख्या यकिन नभए पनि उपचार गर्नेहरुका अनुसार एक जना वैद्यले वर्षमा १५ देखि २० जनासम्मको यसैगरी चुसेर विष झारेर उपचार गर्ने गरेको बताउँछन् ।

घोराही उपमहानगरपालिका १० नारायणपुरका कमल पौडेल पेसाले शिक्षक हुन् । उनले २०४३ सालदेखि सर्पले टोकेका बिरामीको उपचार यस्तै पद्धतिबाट गर्दै आएका छन् । पौडेलसँग वर्षभरिमा कम्तीमा एक सयको हाराहारीमा सर्पले डसेका बिरामी उपचारका लागि आउँछन् ।

वि. सं. २०४३ सालमा बडादसैँको नवदुर्गामा सर्पले डसेका बिरामीको भालुवाङका शाहवीर खानसँग चुसेर विष निकाल्ने उपचार पद्धति सिकेका पौडेलले अहिलेसम्म निरन्तर उपचार गरिरहेका छन् । उमेर ढल्कदै जाँदा उनले उपचार गर्ने विधि गाउँका अन्य १६ युवालाई पनि सिकाएका छन् ।

खाली मुखले चुसेर विष निकाल्दा सुरुसुरुमा हल्का विष लागेको जस्तो भए पनि पटक‑पटकको चुसाइपछि विष पनि नलाग्ने उनको अनुभव छ । ‘करिब चार वर्षअघि तुलसीपुर अञ्चल अस्पतालले मृत घोषणा गरेको व्यक्तिलाई बचाउन सकिने आशामा ती व्यक्तिको परिवारले नारायणपुरस्थित मेरो घरमा लिएर आए,’ उनले सुनाए, ‘नाडी छाम्दा ढुकढुकी कत्ति थिएन । एउटा आशा लिएर आएको बिरामीका परिवारलाई निराश बनाउनुभन्दा प्रयास गर्नु उचित सम्झेर चेलाहरुका साथमा चुस्न सुरु गर्यौँ । लगातार १० घण्टा चुस्दा ती बिरामीका अंगप्रत्यंगहरु सल्बलाउन थाले । मरेको मान्छे जाग्यो भन्दै हल्ला भयो । त्यसपछि प्रहरी आएर हामीलाई उपचार गर्न नदिएर बिरामीलाई लिएर लगे ।’

पुलिसले त्यहाँबाट निकालेपछि बिरामीका आफन्तले नेपालगन्ज मेडिकल कलेज लगेर एक महिनासम्म उपचार गराए, उनलाई निको भयो । ती बिरामी घर फर्केपछि बिरामीको छोरा पौडेलको घरमै आएर खुट्टा ढोगेर सम्मान प्रकट गरेक थिए ।

विष चुस्ने प्रक्रियाबारे पौडेलले विस्तारमा बताउन नचाहे पनि बिरामीलाई पश्चिम फर्काएर बसाउने, धुप बालेर चुस्ने समूहका व्यक्तिहरुले मन्त्र जप गरेर सुरु गर्ने गरेका हुन्छन् । उनले चुस्ने व्यक्ति र बिरामीको बीचमा अरु प्रवेश नगरुन् भनेर गोल घेरा बनाई उक्त क्षेत्रलाई सुरक्षित बनाएर बाँधेर विष चुस्ने कार्य सुरु हुने बताए ।

सर्पले टोकेको बिरामी कति समयपछि आएको छ विष निकाल्न त्यति नै समय लाग्ने पौडेलको भनाइ छ । विष चुस्दा शरीरमा विष रहँदासम्म मात्र चुस्न सकिन्छ । विष सकियो भने चुस्ने व्यक्तिलाई बिरामीको शरीरले नै हुत्याउने पौडेल बताउँछन् । विष चुस्दा सर्पले टोकेको घाउमा कतिपयको दाँतसमेत झरेको चुस्ने क्रममा भेटिने गरेको उनको अनुभव छ ।

दाङमा प्रायः गराइच (करेत) र डुमिनी (कोब्रा, गोमन) सर्पले डसेका मानिस धेरै उपचारका लागि उनीकहाँ आउँछन् । कोब्राको विष मानिसको शरीरमा तुरुन्तै र करेतको विस्तारै अर्थात् डसेको करिब एक घण्टापछि मात्र चढ्ने पौडेलले बताए । चुसेर उपचार गर्ने पद्धति प्रत्येक वर्षको नवदुर्गामा सिकाइने गरेको पौडेलले जानकारी दिए । अहिले चुसेर विष निकाल्ने वैद्य पनि समाजमा धेरै नै छन् । ‘केहीले उपचारपछि तोकेरै पैसा लिने गरेका पनि छन् तर मैले सिकाएका गाउँका चेलालाई तोकेर पैसा लिन दिएको छैन,’ उनी भन्छन् ।

घोराही उपमहानगरपालीका ६ बचाहाका भीमप्रसाद खनालले पनि सर्पले डसेका बिरामीको उपचार गर्न थालेको १० वर्ष भयो । खनाल चुसेर सर्पको विष झार्ने पद्धति बंगाली विद्या भएको बताउँछन् । उनका अनुसार देवी भगवतीको आराधना गरेर कन्याले बनाएको सुनपानीले शुद्ध भएर मन्त्रोच्चारण गर्दै बिरामीको शरीरमा बनेको घाउमा चुसेर विष निकाल्ने गरिन्छ ।

दाङका अस्पतालले नेपालगन्ज सिफारिस (रेफर) गरेका बिरामी पनि आफूकहाँ आएर उपचारपछि निको भएको उनको अनुभव छ । ‘हाम्रो उपचार पद्धतिमा टोकेको ठाउँबाट चुस्ने भएकोले सबै विष निकालिन्छ,’ खनालले भने ।

घोराही उपमहानगरपालिका ६ का केही वैद्यको उपचार विधि भने फरक छ । उनीहरुले सर्पले डसेको बिरामीलाई स्थानीय स्तरमै पाइने जडीबुटीको लेप लगाई उपचार गर्ने गरेका छन् । घोराही ६ का पदमप्रसाद अधिकारीले पनि सर्पले टोकेका बिरामीलाई उपचार गर्न थालेको ३३ वर्ष भयो । सर्पले टोकेका बिरामीलाई उनले गाउँघरमै पाइने जडीबुटी घाउमा लगाइदिने र त्यही जडीबुटीको रस पिउन दिएर उपचार गर्ने गरेका छन् ।

अहिलेसम्म करिब दुई हजार जतिलाई उपचार गरेको र उपचार गरेका सबै सफल भएको उनले बताए । ‘धारापानी मन्दिर छेउछाउको जंगलमा पाइने जडीबुटी ‘एन्टिस्नेक भेनम’ जस्तै जडीबुटी हो, त्यसले नै उपचार गर्दै आएको छु,’ अधिकारीले भने । बुढेसकाल लागेकोले जंगल पुग्न कठिनाइ हुने भएकाले उनले त्यो जडीबुटी करेसाबारीमा पनि रोपेका छन् । ‘अहिलेसम्म मैले उपचार गरेकाहरु सबै सञ्चो भएकोले जडीबुटीले काम गर्छ भन्नेमा म विश्वस्त छु,’ अधिकारीले भने ।

चुसेर विष निकाल्छु भन्नु भ्रम

मेडिकल साइन्सले भने यसमा कत्ति विश्वास गर्दैन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. मिनचन्द्र अधिकारी चुसेर विष निकाल्छु भन्नेले समाजमा भ्रम पैदा गरेको बताउँछन् । अधिकारीका अनुसार सर्पले टोकेको बिरामी दुई कारणले मर्ने गर्छ ।

पहिलो मानसिकताले मानिस मर्छ । त्यसकारण बिरामीलाई समाज तथा घर‑परिवारले नै पहिला ‘काउन्सिलिङ’ गर्नुपर्छ । त्यस्तै सर्पले डसेपछि अस्पताल पु‑याउन ढिलाइ हुँदा विष शरीरमा फैलिएर मृत्यु हुन्छ । ‘एन्टिस्नेक भेनम नै विष मार्ने अचुक उपाय हो भने बढी सिकिस्त बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्दामात्र सफल भएका छन्,’ अधिकारीले भने । अहिले पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एन्टिस्नेक भेनम प्रशस्त रहेको उनले जानकारी दिए ।

वर्षातको समयमा सर्प जमिनबाट बाहिर निस्कने भएकाले सर्पले डस्ने घटना बढी हुन्छन् । विषालु सर्पले टोकेकोलाई चुसेर विष निकाल्न नसकिने राप्ति प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ सर्जन डा. जनार्दन पन्थी बताउँछन् ।

सर्पले डसेका बिरामीको शरीरमा रगतमा मिसिएको विष कुनै पनि हालतमा चुसेर ननिस्किने उनले दाबी गरे । ‘सर्पले टोकेपछि विष रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्ने भएकाले चुसेर विष निकाल्छु भन्नेहरुले समाजमा भ्रम छर्ने काममात्र गरेका छन्,’ डा. पन्थीले भने ।

तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गत आर्थिक वर्ष २०७६/७७ मा सर्पले डसेर उपचार गराउन आउनेको संख्या ३६ थियो । अस्पतालका सूचना अधिकारी डिल्ली केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये सात जनालाई नेपालगन्ज रेफर गरिएको थियो भने बाँकी २९ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । पहिला झारफुक तथा चुसेर उपचार गर्ने वैद्यलाई विश्वास गरे पनि अहिले अस्पतालमा उपचारका लागि आउनेहरु नै बढेको केसीले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गत आर्थिक वर्षमा १० जनामात्रै उपचारका लागि आएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । उपचारका लागि आएकामध्ये ६ जनालाई कोहलपुर रेफर गरिएको उनले बताए । बाँकी चार जनामध्ये दुई जना अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका थिए भने दुई जनाको मृत्यु भएको थियो ।

वैज्ञानिक तथ्यअनुसार कुरा गर्ने आधुनिक चिकित्सक, प्राकृतिक जडीबुटीको माध्यमबाट उपचार गर्ने तथा चुसेर विष निकाल्ने वैद्यहरुले आ–आफ्नै तरिकालाई उपचारको उत्तम माध्यम बताउँछन् । समाजमा अहिले पनि अस्पतालको उपचार पद्धतिभन्दा पनि वैद्यहरुको उपचार पद्धतिमै विश्वास गर्नेहरुको संख्या पनि ठूलै छ । त्यसैले पनि सर्पले डस्दा चुसेर उपचार गर्ने पद्धति विश्वास हो कि बाध्यता ? समाजलाई नै छुट्याउन गाह्रो परेको देखिन्छ । (रासस)

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु