गृहपृष्ठ हुम्लाका दश प्रादेशिक कार्यालयको खर्च १ अर्ब १६ करोड
हुम्लाका दश प्रादेशिक कार्यालयको खर्च १ अर्ब १६ करोड
हुम्लामा कर्णाली प्रदेश अन्तर्गतका १० कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब १६ करोड रूपैयाँभन्दा धेरै रकम खर्च गरेका छन् । सबैभन्दा थोरै रकम खर्च गर्ने जिल्ला समन्वय समितिको कार्यालय रहेको छ भने कृषि विकास कार्यालय हुम्लाले सबैभन्दा बढी खर्च गरेको छ । यो सबै रकमको ८० प्रतिशत खर्च विशेषतः विभिन्न प्रकारका भौतिक पूर्वाधारको क्षेत्रमा भएको हो ।
हुम्ला जिल्लामा कर्णाली प्रदेशस्तरीय कार्यालयहरुमा प्रदेश लेखा इकाई कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, डिभिजन वन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पुश विज्ञ केन्द्र, पूर्वाधार विकास कार्यालय, खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय, सामाजिक विकास कार्यालय र स्वास्थ्य सेवा कार्यालय रहेका छन् ।
यी दश प्रादेशिक कार्यालयहरुमा प्रदेश सरकार सुर्खेतबाट आव २०७६/०७७ मा चालुतर्फ कुल बजेट ६४ करोड २२ लाख ६३ हजार प्राप्त भएको छ । यसमा ४७ करोड २२ लाख ६४ हजार ४१८ रकम खर्च भएको छ । चालु बजेटतर्फ ७३.५८ प्रतिशत खर्च भएको देखिन्छ ।
यसैगरी पूँजीगततर्फ हुम्लाका १० प्रादेशिक कार्यालयहरुमा १ अर्ब १५ करोड ९२ लाख ४२ हजार प्राप्त भएको छ । यसमा ६९ करोड ५ लाख २७ हजार २० रुपैँया खर्च भएकोे कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका कोष नियन्त्रक नरेश प्रसाद भट्टले जानकारी दिएका छन् । यो कूल पूँजीगत बजेटको ५९.५७ प्रतिशत खर्च हो ।
हुम्लाका यी १० प्रादेशिक कार्यालयहरूले चालुतर्फ कुल बजेट ६४ करोड १८ लाख ६३ हजार र पूँजीगतर्फ कुल बजेट एक अर्ब १५ करोड ९२ लाख रहेको छ । यी दुवै शिर्षकको कुल बजेट एक अर्ब ८० करोड ११ लाख ५ हजारमध्ये आव २०७६/०७७ को कुल खर्च एक अर्ब १६ करोड २७ लाख ९१ हजार २३९ भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जुन कुल खर्च प्रतिशत ६४.५६ प्रतिशत हुन्छ ।
हुम्लामा स्थापित यी दश प्रादेशिक कार्यालयहरूले हुम्लाका सात स्थानीय तहका ४४ वडाहरूमा यति धेरै रकम खर्च भए पनि स्थानीयहरू भने अपेक्षाकृत काम नभएको गुनासो गर्छन् । त्यतिका बजेट वालुवामा पानी खन्याएसरह भएको उनीहरूको भनाइ छ ।
प्रकाशित समय १४:४२ बजे

















