गृहपृष्ठ लकडाउनले ‘चित्रकार’ बनाएका पुजन र सुमन
लकडाउनले ‘चित्रकार’ बनाएका पुजन र सुमन
कोरोना संक्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । संक्रमणकै कारण अकालमा लाखौँले ज्यान गुमाइसके भने धेरै संक्रमित बनिरहेका छन् । विश्वव्यापी कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन । कोरोना जोखिम हुन नदिन कहीँ लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झन्झटिलो भइरहेको छ ।
कतिपयलाई भने नयाँ‑नयाँ काम सिक्ने अवसर बनिरहेको छ । यही समयमा कतिपयले आफूलाई ‘उद्यमी’का रूपमा पनि स्थापित गरेका छन् । केहीले लकडाउनलाई ‘स्वर्णीम’ बनाउँदै सीप सिक्ने अवसरका रूपमा पनि लिए । लकडाउन नभएको भए माइजोगमाई गाउँपालिकास्थित सोयाङका पुजन चापागाईं यति बेला झापाको बिर्तामोडमा भेटिन्थे ।
विर्तामोडको कोहेड कलेजमा कक्षा १२ मा अध्ययनरत उनी अहिले पनि अध्ययनकै सिलसिलामा भुलिँदै छन् । विज्ञान विषय पढ्दै गरेका उनी घरबाहिर त होइन, कोठामै समेटिएर किताबमा घोत्लिन्थे । कोरोनाको जोखिम हुन थालेपछि उनी घरमै छन् । लकडाउन सुरु भएको पाँच दिनअघि नै घर आए उनी ।
घरमै मात्र बस्नुपर्ने भएपछि सुरुवाती समयमा त उनलाई हैरानी बनायो । विर्तामोडको खुला सडकमा समय बिताउने उनलाई घरभित्रै टिभी हेर्न र पढ्नमात्रै दिक्क लाग्न थाल्यो । उनलाई रहर लागेको चित्रकलाको सम्झना आयो । उनले सुरुमा त समयको सदुपयोगका लागि केही चित्र कोरे । बनाउँदै जाँदा कहीँ चित्र हेर्न लायक पनि भए ।
परिवारबाट हौसला बढेपछि भने उनले दिनदिनै चित्र कोर्न थाले । पुजनको चित्रको संख्या बढ्दै जाँदा चित्रमा निखारता पनि बढ्दै गयो । अहिले त उनको लामो समय चित्र बनाउँदै बित्छ । उनले सुरुमा घरपरिवारकै चित्र बनाए पनि हिजोआज अरूको पनि बनाउँछन् । अहिले उनले बनाएका सबै चित्र ‘एक से एक’ छन् । ‘अरूले पनि चित्र बनाउन आग्रह गर्नुहुन्छ,’ उनी भन्छन्, ‘लकडाउनले मलाई चित्र बनाउन सक्ने बनायो । लकडाउन थिएन, भने सायद चित्र कोर्ने हुने थिइन होला ।’
उनले पेन्सिलमात्रै प्रयोग गरेर चित्र कोर्दा पनि दुरुस्तै बनाउँछन् । ‘अहिले चित्रमा निखारता ल्याउन पेन्सिलले मात्र कोर्ने गरेको छु,’ उनी भन्छन्, ‘अरू चिजको प्रयोग गर्दा चित्रको अर्गानिकपन आउँदैन ।’ आफ्नो रहरको विषय भएकाले पनि दुःख गरेर चित्र उतार्न रमाइलो लाग्ने गरेको उनी बताउँछन् । उनले घरपरिवार (बहिनीहरू, हजुरबा, हजुरआमा), साथीभाइ र आफूले मन पर्ने चित्र कोर्ने गरेका छन् । लामो समय निरन्तर खटेर गर्नुपर्ने भए पनि चित्रकलामा भविष्य नभएको उनले बताए ।
सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका सुमन निरौला (भारद्वज)को पीडा पनि पुजनकै जस्तो छ । इलामकै महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्नातक चौथो वर्ष अध्ययनरत उनी पनि लकडाउन भएपछि घर जानुपर्ने भयो । सहरमा जस्तो ‘कडा’ लकडाउन गाउँमा नभए पनि उनले फाट्टफुट्ट बाहिर हिँड्नबाहेक घरमै बिताए ।
उनले पनि पुजनले जस्तै आफूलाई अल्छी लागेको समयमा पेन्सिलले चित्र कोर्न थाले । सानैदेखि रहरको विषय रहेको चित्रकलामा उनले दिनानुदिन परिश्रम गर्दै गए । परिश्रम खन्याएसँगै चित्रकला अब्बल बन्दै गए । परिवार र साथीभाइको चित्रसमेत बनाउँदै गएपछि धेरैले उनका चित्र मन पराउन थाले । निरन्तर चित्र बनाएपछि उनी पनि दुरुस्तै चित्र कोर्न सभए ।
अहिले सुमनलाई चित्र बनाइदिन भन्दै दैनिक तीन‑चार कल फोन नै आउँछन् । ‘धेरैले चित्र बनाइदेऊ घरमा सजाएर राख्छु भन्दै फोन गर्नुहुन्छ,’ उनी भन्छन्, ‘साह्रै खुसी लाग्छ ।’ उनका अनुसार एउटै चित्र बनाउन लगातार तीन‑चार घण्टा खट्नुपर्छ । सोखकै कारण अहिले सुमन घरका सबैका भ्याएर दुईदेखि तीन घण्टा चित्रकलालाई समय छुट्याउँछन् । ‘धेरै र राम्रा चित्र बनाए भविष्य त होला,’ उनी भन्छन् । (किरण पौड्याल/रासस)
प्रकाशित समय २१:०५ बजे

















