गृहपृष्ठ गीता केसी हत्या प्रकरण : काकी-भतिजाबीच ३ वर्षदेखि ‘नजिकको सम्बन्ध’
गीता केसी हत्या प्रकरण : काकी-भतिजाबीच ३ वर्षदेखि ‘नजिकको सम्बन्ध’
श्रीमानलाई ढाँटेर लेले जंगलमा 'डेटिङ' !
शव भेटिएको स्थल । (तस्बिर : सामाजिक सञ्जाल)
गीता केसी हत्या प्रकरणमा पक्राउ परेका निर्मल केसीले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा गीताको हत्या आफूले नै गरेको बताएका हुन् । मृतक गीता चार दिनदेखि बेपत्ता थिइन् ।
ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको शव शुक्रबार बेलुकी गोदावरी नगरपालिका- १०, मुलडोलस्थित सामुदायिक वनमा हत्या गरेको अवस्थामा सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको थियो । मृतक गीता र पक्राउ परेका निर्मलबीच काकी-भतिजा नाता रहेको बताइएको छ ।
शनिबार भैँसेपाटीस्थित आफ्नै निवासबाट पक्राउ परेका निर्मलले घाँटी थिचेर गीताको हत्या गरेको बयान दिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । मृतक केसी अल्का अस्पतालमा हाउस किपरका रूपमा कार्यरत थिइन् ।
‘अस्पताल जानु पर्ने भयो’ भन्दै श्रीमानलाई ढाँटेर मृतक गीता भतिजा निर्मलसँग त्यस दिन लेलेको जंगलतिर घुम्न गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा निर्मल र गीताबीच विगत ३ वर्षदेखि ‘नजिकको सम्बन्ध’ कायम रहेको खुलेको छ । बयानको क्रममा पक्राउ परेका निर्मलले गीतासँग अफेयर रहेको बताएका छन् । गीतालाई अस्पतालसम्म लैजाने र ल्याउने कामसमेत निर्मलले नै गर्ने गरेका थिए ।
लेले जंगलमा पुगेपछि उनीहरु बीच झगडा सुरु भएको र हत्यासम्म हुन पुगेको प्रहरीले पत्ता लगाएको छ । ‘आन्तरिक सम्बन्धबाट उत्पन्न सामान्य विवादले हत्याको रुप लिएको देखिन्छ । थप कुरा विस्तृत अनुसन्धान र बयानपछि खुल्ला,’ ती प्रहरी अधिकृतले भने ।
प्रकाशित समय १९:५१ बजे

















