गृहपृष्ठ विप्लव समूहका नेता ‘विरही’ अस्पतालबाटै पक्राउ

विप्लव समूहका नेता ‘विरही’ अस्पतालबाटै पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको छ ।

उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्दा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए । ‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौं,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पुर्‍याइएको छ । धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए । नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आउनुभएको थियो । सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पुर्‍याएको थियो ।

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु