गृहपृष्ठ दरबार हाइस्कूलको भवन हस्तान्तरण
दरबार हाइस्कूलको भवन हस्तान्तरण
चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । आज यहाँ चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरे ।
गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड- १९ का कारण ढिलो भएको हो । उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको बताइएको छ ।
काठमाडौं महानगरपालिका- २७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी संघाई कन्सट्रक्सनले लिएको थियो । ८५ करोड रूपैयाँको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ ।
दरबार हाई स्कूलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सुचारु रहँदै आएको छ । दुवै विद्यालय अलग अलग व्यवस्थापनमा सुचारु छन् । हाल ती दुवै विद्यालयमा गरी ३५० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन् । भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु भएको- १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड- १९ का कारण हस्तान्तरण हुन नसकेको बताए ।
२०७२ सालमा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो । १९१० सालमा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । १९६४ सालमा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्न का लागि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरेका थिए । २०३० सालमा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ ।
सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् ।
लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो । निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर पनि दिएको बताइएको छ । (रासस)
प्रकाशित समय १६:०९ बजे

















