गृहपृष्ठ नेप्सेमा बल्ल छायो हरियाली
नेप्सेमा बल्ल छायो हरियाली
सेयर बजार परिसूचक नेप्सेमा बल्ल आज हरियाली छाएको छ । डा. खतिवडाको बहिर्गमनपछि पनि बजार नबढेपछि ‘अचम्म’मा परेका केही लगानीकर्तालाई मंगलबारको हरियालीले केही शीतलता प्रदान गरेको छ ।
मंगलबार नेप्से ७.३५ अंकले बढेर १४९५.१५ अंकमा उक्लिएको छ । बैंक र होटलबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक सकारात्मक बनेको हो । बैंक समूह ०.२४ र होटल समूह ०.३३ प्रतिशतले घटेका छन् ।
मंगलबार १९० कम्पनीको ४१ लाख ८० हजार ८१६ कित्ता सेयर १ अर्ब ७९ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा ३७ करोड कम हो । सोमबार २ अर्ब १६ करोड ३० लाख रुपैयाँबराबरको सेयर खरिद‑बिक्री भएको थियो ।
आज साल्ट ट्रेडिङ कर्पोरेसन, उन्नति सहकार्य लघुवित्त, एनआरएन लघुवित्त, जोशी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै चिलिमे हाइड्रोपावर, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, घोडीघोडा लघुवित्त, आशा लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स सर्वाधिक मूल्य बढ्ने १९ कम्पनीको सूचीमा परेका छन् ।
मंगलबार सर्वाधिक नेपाल रिइन्स्योरेन्स कम्पनीको २७ करोड ५५ लाख, नागरिक लगानी कोषको १२ करोड २२ लाख, नेको इन्स्योरेन्सको ९ करोढ ९१ लाख रुपैयाँको सेयर किनबेच भयो । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.४५ र सोमबार १२.१७ अंकले घटेको थियो ।
प्रकाशित समय १६:२० बजे

















