गृहपृष्ठ भवानीस्थान मावि, जहाँ भविष्य खोज्दै छन् ४२० विद्यार्थी

भवानीस्थान मावि, जहाँ भविष्य खोज्दै छन् ४२० विद्यार्थी

झट्ट हेर्दा उमेर पार गरेर ढलेको आश्रम । आश्रमको पनि कलेजो फोक्सो सबै कुहिएको । ज्यान जोगाउने पाखुरासमेत माटोमा बिलिन हुन लागे जस्तो । नजिकै रहेको हरियो जस्तापाताको वृद्ध शौचालय । त्यसै शौचालयले नै प्रस्ट्याउँछ र भन्छ, वरिपरि सिस्नोघारीले घेरिसक्यो, जन्मन नपाउँदै (पेटमै) मर्ने भयो छिमेकी ।

यी दृश्य हुन्, डोटीको सायल गाउँपालिका‑३ साइनगाउँमा रहेको भवानीस्थान माविको । चार वर्षअघि निर्माण कार्य सुरु भएको चार कोठे यो भवन निर्माण पूरा नहुँदै अलपत्र परेको छ । हालसम्म पहिलो तला पनि निर्माण सकिएको छैन । अलिकति माथिसम्म उठाइएका पर्खाल पनि भत्किन लागेका छन् । कोठाभित्र घाँस उम्रेर वर्षौं पुरानो जस्तै देखिएको छ ।

भवन जिल्ला शिक्षा समन्वय समितिको सहयोगमा निर्माण सुरु भएको हो । दुई तले निर्माणाधीन भवनका लागि अहिलेसम्म आधाजति पैसा खर्च भइसकेको छ । पहिलो चरणमा १८ लाख विनियोजन भएको भवनको दुई वर्षसम्म पनि पहिलो तला बनेन । दोस्रो किस्ताको रकम गाउँपालिकाले रोकेको छ ।

निर्माण कार्य सुरु भएका बेला विनियोजन भएको रकम पनि के कति खर्च भयो भन्ने कुनै विवरण सार्वजनिक छैन । विद्यालयका तत्कालीन प्रधानाध्यापक नवराज उपाध्याय र लेखा प्रमुख गोकुल शर्माको नाममा संयुक्त खाता सञ्चालन गरेर खर्च गरिएको थियो । २०७५ असार मसान्तसम्म पनि निर्माण कार्य पूरा नभएपछि बजेट फ्रिज भयो । त्यसपछि २०७५ फागुन २८ गते उपाध्यायले अवकाश लिए । त्यसबेला खातामा जम्मा तीन हजार रुपैयाँ थियो ।

शिक्षा नियमावलीअनुसार प्रधानाध्यापकले अवकाश लिएको वा सरुवा भएको १५ दिनभित्र सम्पूर्ण विवरण विद्यालयको जिम्मामा दिनुपर्छ । प्रधानाध्यापक उपाध्यायको हकमा भने त्यो लागू भएको छैन । उनले अवकाश लिएको दुई वर्ष पुग्न लाग्यो । अझसम्म उनले कुनै औपचारिक विवरण विद्यालयलाई बुझाएका छैनन् ।

भवानीस्थान माविमा ४२० विद्यार्थीले अध्ययन गर्छन् । स्थापना कालदेखिको जीर्ण भवन र चुहिने दुई-तीन वटा भवनमै सबै विद्यार्थीको पढाइ हुन्छ । छात्रबास तोकिएको सीआरसीको भवनको तल्लो तलामा ग्रामीण विकास केन्द्र र माथिल्लो तलामा विद्यालयका कार्यालय राखिएका छन् ।

विद्यार्थीलाई पठनपाठनमा सहज होस् भन्नका लागि अघि बढाइएको भवनको निर्माण कार्य समयमा सम्पन्न नहुँदा आगामी दिन झनै कष्टकर हुने विद्यालयका एक शिक्षकले बताए । ‘भवन निर्माणमा १८ लाख रुपैयाँ खर्च भइसकेको भनिएको छ,’ नाम नबताउने सर्तमा उनले भने, ‘तर त्यसबेला पहिलो तला (छत) हाल्नका लागि स्थानीयले बोकेको गिट्टीबालुवाको पैसा पनि भुक्तानी भएको छैन । करिब चार लाख रुपैयाँ दिन बाँकी छ ।’

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष वासुदेव उपाध्याय र प्रधानाध्यापक उपाध्यायको कार्यकालमा २०७५ असारदेखि फागुनसम्मको दुई जना शिक्षकको तलब पनि रोकिएको स्रोतले जानकारी दियो । ‘उहाँहरूको पालामा हरेक शीर्षक बजेटमा अनियमितता भएको देखिन्छ । उपाध्यायको कार्यकालमा कुन शीर्षकमा कति खर्च भयो, कति बचत भयो भन्ने कसैलाई जानकारी छैन । उनी जानेबेलामा विद्यालयको खाता रहेको नविल बैंकमा तीन हजार रुपैयाँमात्र बचत थियो,’ विद्यालयका एक शिक्षक भन्छन् ।

विद्यार्थी भर्ना, परीक्षा शुल्कलगायतका शीर्षकमा खातामा बचत हुनुपर्नेमा अहिलेसम्म प्रअले विद्यालयलाई औपचारिक/अनौपचारिक जानकारी नदिएको शिक्षकहरूको आरोप छ । शिक्षक, कर्मचारी गरी १३ जना कार्यरत रहेको भवानीस्थान माविमा न अफिसका लागि भवन छ न त विद्यार्थीलाई अध्ययन गराउनलाई नै । पुराना भवनका डेस्कबेन्च पनि क्वारेन्टिनमा बस्नेहरुले जलाएका छन् ।

समयमै सामान नआइपुगेकाले भवन समयमै नबनेको विद्यालयका लेखापाल गोकुल शर्माको तर्क छ । ‘त्यो बेलामै भवन निर्माण भइसक्थ्यो । बीचमा सामान समयमै नपुगेका कारण ढिलाइ भएको हो । पहिलो किस्ताको काम नभएको भन्दै दोस्रो किस्ता गाउँपालिकाले दिएन । त्यसैले अहिलेसम्म अलपत्र परेको हो,’ उनले बेलिविस्तार लगाए ।

विद्यालय स्रोत भने व्यवस्थापन समिति र प्रअ‑लेखापालको चलखेलका कारण पहिलो किस्ताको बजेट दुरुपयोग भएको दाबी गर्छ । नजिकै रहेको दिपायल बजारमा पाउने सामान पनि कैलालीको धनगढीबाट ढुवानी गरेको र दुई लाख रुपैयाँ सामान ढुवानीमै खर्च भएको भनिएको छ । नजिकै पाउने सामानका लागि किन टाढा जानुपरेको थियो ? ढुवानीमै दुई लाख रुपैयाँ कसरी खर्च भयो ? स्थानीय बासिन्दाले पनि यी प्रश्नको उत्तर खोजिरहेका छन् ।

निर्माणाधीन अवस्थामै अलपत्र परेको सो भवनको निर्माण कार्य कहिले अगाडि बढ्छ थाहा छैन । लेखापाल शर्मा नयाँ विद्यालय व्यवस्थापन समिति बनेपछि निर्णय हुने बताउँछन् । ‘अहिले यो विद्यालय बन्ने/नबन्ने भन्नेमा केही भन्न सकिँदैन । नयाँ व्यवस्थापन समिति गठन भएको छैन । नयाँ बन्ने समितिले जे निर्णय गर्छ त्यही हुन्छ,’ उनले भने ।

भैरवस्थान माविका लागि गाउँपालिकाले भने नयाँ टेन्डर आह्वान गर्ने तयारी गरेको छ । विद्यार्थीलाई पठनपाठनमा समस्या भएकाले नयाँ भवनका लागि छिट्टै टेन्डर आह्वान हुने गाउँपालिका अध्यक्ष तेज डुम्रेलले बताए । ‘विद्यालयमा भवनहरुको अवस्था दयनीय छ । शिक्षाबाटको भवन निर्माण हुने/नहुने टुंगो नभएकाले अब गाउँपालिकाले नयाँ भवनका लागि काम अघि बढाउँछ,’ उनले भने ।

गाउँपालिकाले दोस्रो किस्ता भुक्तानी नगरेको विषयमा उनले काम नभएकाले नदिएको प्रतिक्रिया दिए । ‘पहिलो किस्ता शिक्षाबाट नै निकासा भएको थियो । त्यसपछिको जिम्मेवारी गाउँपालिकालाई आयो । गाउँपालिकाले अनुगमन गर्दा समस्या देखेपछि दोस्रो किस्ता रोकेको हो,’ उनले भने ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु