गृहपृष्ठ संक्रमित थपिएका मात्र होइन, कोरोनामुक्त हुनेको संख्या पनि बढ्दैछ

संक्रमित थपिएका मात्र होइन, कोरोनामुक्त हुनेको संख्या पनि बढ्दैछ

संक्रमणमुक्त भएकाहरू अस्पतालबाट बिदा हुँदै ।

पछिल्ला केही दिनयता कोरोना संक्रमित थपिनेको तुलनामा संक्रमणमुक्त भई घर फर्कनेको संख्या पनि बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोनामुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दो छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ सय २ संक्रमित थपिँदा दुई हजार २ सय ८७ जना कोरोनामुक्त भई घर फर्केका छन् । सोमबार मुलुकभर एक हजार ७ सय ३६ जना डिस्चार्ज भएका थिए । जबकि, त्यस दिन ९ सय ७९ नयाँ संक्रमित थपिएका थिए । आइतबार पनि संक्रमित संख्या ९ सय ८० जनाको तुलनामा झण्डै दोब्बर एक हजार ८ सय १४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका थिए ।

हाल देशभर संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको मन्त्रालयले जनाएकाे छ । यसमध्ये ३२ हजार ९ सय ६४ संक्रमणमुक्त भइसकेका छन् । अब सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ मात्र रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

यसमध्ये संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८ सय १५ जना रहेका छन् । हाल क्वारेन्टिनमा ५ हजार ३ सय १० जना छन् । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ सय ६ पुगेको छ ।

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु