गृहपृष्ठ हुम्लामा नेपालगञ्जबाट आएकी एक युवतीमा कोरोना संक्रमण, गोठी गाउँ सिल

हुम्लामा नेपालगञ्जबाट आएकी एक युवतीमा कोरोना संक्रमण, गोठी गाउँ सिल

शनिबार नेपालगञ्जबाट समीट एयरमा आएकी २१ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरेर हुम्लातिर लागेकी सर्केगाड गाउँपालिका ५ की २१ वर्षका महिला शनिबार समीट एयरबाट हुम्ला पुगेकी थिइन् ।

एक दिन सिमकोट बसेर आइतबार माउन्टेन एयरको हेलिकप्टरबाट सर्केगाडतिर आएकी थिइन् ।
आइतबार दिउँसो उनको कोरोना चेकजाँचको नतिजा कोहलपुरको ल्याबमा पोजेटिभ आएको जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशवावु श्रेष्ठले जानकारी दिए ।

शनिबार समीट एयरको बिमानबाट १५ जना यात्रुसहित हुम्ला आएकी युवती सिमकोटमा बास बसेको ठाउँ, उनीसँग सम्पर्कमा आएका मानिसहरू आदिको बारेमा जानकारी लिने काम भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

शुक्रबार हुम्ला आउनका लागि स्वाब संकलन गरिएको भए पनि उनी चेकजाँचको नतिजा नआउँदै हुम्ला पुग्दा हुम्ला अब ग्रीनजोनबाट रेडजोनमा पुगेको उनले बताए । संक्रमित महिलासँग हवाइयात्रामा आएका सर्केगाड गाउँपालिकाका ५ जना, चंखेली गाउँपालिकाका २ जना, सिमकोट गाउँपालिकाका ३ जना र नेपालगञ्जका ४ जना रहेको अभिलेख जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पछिल्लो समय आपतकालीन उद्दारको नाममा काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट आउने केही यात्रुहरूले देखाउने पीसीआर रिपोर्ट पनि नक्कली भएको आशंका गरिएको बताइएको छ ।

सर्केगाड गाउँपालिकाको आपतकालीन बैठक, गोठी गाउँ सिल

सर्केगाड गाउँपालिकाले पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएकी युवती बसेको गाउँलाई सिल गर्ने तयारी भएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलदेखि शनिबार सिमकोट पुगेर आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट सर्केगाड हुदै गोठी पुगेकी ती महिला बसेको गाउँलाई आइतबारदेखि नै सिल गर्ने निर्णय भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले जानकारी दिए ।

‘संक्रमित बसेको गाउँमा गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौं,’ अध्यक्ष रोकायाले भने, ‘तत्काल हामी गोठी गाउँलाई शिल गरेर आवश्यक स्वास्थ्य सावधानी अपनाउने विषयमा सबै तयारी पूरा गरेका छौं ।’

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु