गृहपृष्ठ बजार खुल्यो, सुधार भएन व्यापार
बजार खुल्यो, सुधार भएन व्यापार
तारा रिजाल फेन्सी कपडाको व्यापार गर्छिन् । वीरेन्द्रनगर- ६ को हटियालाइनमा व्यापार गर्दै आएकी उनले कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण फैलिनुभन्दा पहिले दैनिक बीस हजार रुपैयाँभन्दा माथिको सामान बेच्थिन् । तर उनको व्यापारमा अहिले कमी आएको छ । कारण हो समुदाय स्तरमा फैलिएको कोरोनाभाइरसको संक्रमण ।
गत चैत्र महिनाको ११ देखि नेपाल सरकारले लकडाउन घोषणा गरेदेखि खासै व्यापार नभएको उनले सुनाइन् । ‘चाडपर्वमा समेत व्यापार राम्रो छैन । तिजमा निषेधाज्ञा भयो तर दसैं नजिकिँदै गरेको भए पनि व्यापारमा सुधार आएको छैन,’ उनले चिन्ता व्यक्त गरिन् । लकडाउन र निषेधाज्ञाले व्यापारीलाई मात्रै नभएर ज्यालादारी गरेर खाने मजदुरहरुलाई समेत समस्या भएको उनले बताइन् । महामारी सुरु भएयता सामान उत्पादन नै भएको र उत्पादित सामान ढुवानी गर्नसमेत समस्या भएको उनले सुनाइन् ।
निर्मला शाहीले कोल्ड सेन्टर सञ्चालन गरेकी छन् । सधैँझैं हिउँदमा भन्दा खडेरी र चाडपर्वमा राम्रो व्यापार जमाउने उनको समेत अहिले कारोबार चौपट छ । ‘पटक-पटक बन्द भइरहन्छ,’ उनले समस्या सुनाइन्, ‘मान्छेलाई बिहान-बेलुकी कै छाक टार्न मुस्किल भएको बेलामा हाम्रो व्यापार कसरी हुन्थ्यो ।’ उनका अनुसार कोरोनाभाइरसको संक्रमण फैलिनुभन्दा पहिले दिनमा पच्चीसदेखि तीसहजार रुपैयाँ सम्मको व्यापार हुने गरे पनि अहिले दैनिक पाँच/सात हजारसम्मको मात्रै व्यापार भएको छ ।
‘सबै क्षेत्र राम्रोसँग सञ्चालनमा आएको भए व्यापार पनि हुन्थ्यो कि, सटर मात्रै खोलेर त कसरी व्यापार हुन्छ ?’ उनले भनिन् । पछिल्लोसमय व्यापार केही सुस्ताएको बेला फेरि दसैंतिहारमा बन्द हुने त्रास भएको शाहीले बताइन् ।
त्यसो त कोरोनाभाइरसको संक्रमणका कारण व्यापार व्यवसाय मात्रै होइन अन्य क्षेत्र पनि प्रभावित भएको छ । दैनिक ज्यालादारी गरेर खानेहरुलाई समेत छाक टार्नै मुस्किल भएको छ । सानादेखि ठुला व्यवसायीहरु आर्थिक संकटमा परेका छन् । कोरोनाभाइरसको बहानामा हुने पटक-पटकको बन्द र निषेधाज्ञाले निजी क्षेत्र प्रताडित भएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताए । ‘अब हामी कुनै पनि अवस्थामा व्यापार व्यवसाय बन्द गर्न दिँदैनौं । यदि व्यवसाय बन्द गर्ने नै भए व्यापारीको घरभाडा, बैंकको ऋण सरकारले व्यवस्था गरिदिनुपर्छ,’ उनले भने । निजी क्षेत्रलाई सरकारले बेवास्ता गर्दै बन्द गराउने अर्को प्रयास गर्यो भने सरकारको अर्थतन्त्र नै धरापमा पर्ने उनले तर्क गरे ।
उनका अनुसार सरकारले स्वास्थ्य परीक्षणमा कडाई गर्ने र स्वास्थ्य सुरक्षाको विधि अनिवार्य अपनाई सम्पूर्ण निजी क्षेत्रलाई सुचारु गर्नमा सहज वातावरण बनाउनुपर्छ । कर्णाली प्रदेशमा ठूला उद्योगधन्दाहरु समेत नभएको अवस्थामा बैंकले छुट पनि नदिएको उनले सुनाए । बन्द गर्ने तयारी प्रशासनले गरेको खण्डमा सम्पूर्ण व्यापारीहरु आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोनाभाइरसको संक्रमण बढ्दो क्रममा भएको बताए । ‘दसैं र तिहारमा निषेधाज्ञा गर्ने/नगर्ने विषयमा अहिले नै जानकारी छैन,’ उनले भने । प्रजिअ रेग्मीका अनुसार वीरेन्द्रनगर नगरपालिका, सुर्खेत उद्योग वाणिज्य संघ, यातायात व्यावसायीहरु, स्वास्थ्यकर्मी लगायतसँग समन्वय गरी सोहीअनुसार बन्द गर्ने नगर्ने भन्ने विषयमा निर्णय हुन्छ ।
कर्णाली प्रदेशमा गत माघ ५ गते पहिलोपटक दैलेखका एकजनामा संक्रमण पुष्टि भएसँगै त्यसयता ३ हजार ३ सय ६१ जनामा पुष्टि भइसकेको छ । सुर्खेत जिल्लाभर कोरोनाभाइरसको सक्रिय बिरामी भने ३ सय ३३ जना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्यांक छ ।
प्रकाशित समय १९:२९ बजे

















