गृहपृष्ठ सञ्चारगृहका पत्रकार तथा कर्मचारीद्वारा संयुक्त रुपमा आन्दोलनको घोषणा

सञ्चारगृहका पत्रकार तथा कर्मचारीद्वारा संयुक्त रुपमा आन्दोलनको घोषणा

काठमाडौँका विभिन्न सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । पीडित पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिको बैठकले रिले अनसनदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थालाई जानकारी गराउनेसम्म आन्दोलन घोषणा गरेको हो ।

गत असोज ८ गते नागरिक दैनिकको सत्याग्रह स्थलमै पत्रकार महासंघका केन्द्रीय सदस्य एवं श्रमजीवी हित प्रवर्द्धन समिति सह-संयोजक जन्मदेव जैसीको उपस्थितिमा पीडक सञ्चारगृहका सबै श्रमजीवीहरुको भेलाले संयुक्त संघर्ष समिति गठन गरेको थियो ।

घोषित कार्यक्रमअन्तर्गत असोज १५ गतेदेखि २० गतेसम्म ५ दिने रिले अनशन, असोज २१ गते अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनमा एक घण्टा घेराउ कार्यक्रम तय भएको छ । असोज २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा घेराउ, असोज २३ गते नागरिक दैनिकमा एक घण्टा घेराउ र असोज २४ गते नेपाल आजमा एक घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको समिति संयोजक धर्मेन्द कर्णले जानकारी दिए ।

त्यस्तै असोज २५ गते सूचना तथा प्रशारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रर्दशन गर्ने, असोज २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ ।

कान्तिपुर, कारोबार, नागरिक, अन्नपूर्णलगायतका सञ्चारमाध्मयमा भइरहेको श्रम शोषणको बारेमा सबै शुभेच्छुक संघ संगठन र ऐक्यवद्धता दिन आव्हान गर्ने निर्णयसमेत भएको संयोजक कर्णले बताए । सञ्चारगृहको ज्यादति र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधि सभा सभामुख, राष्ट्रियसभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालयलगायतलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गर्ने पनि संघर्ष समितिले निर्णय गरेको छ ।

सत्तापक्ष र प्रतिपक्ष एवं अन्य राजनीतिक दलहरु, कूटनीतिक नियोग, मानव अधिकार, सञ्चार सम्बद्ध संघ संगठनहरु, ट्रेड युनियनहरु तथा श्रम अधिकारसँग सरोकार राख्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्था तथा सम्बन्धित निकायहरुमा जानकारी गराइ समर्थन प्राप्त गर्ने निर्णय भएको संयोजक कर्णले जानकारी दिए ।

संयोजकका अनुसार पत्रकार महासंघको अभिभावकत्वमा आन्दोलनलाई प्रभावकारी बनाउन अध्यक्ष गोविन्द आचार्य, महासंघकै केन्द्रीय सदस्य जैसीगायतसँग संघर्ष समितिले समन्वय गरिरहेको छ ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु