गृहपृष्ठ काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गए पनि काठमाडौँ उपत्यका अझै पनि उच्च जोखिम कायम रहेको बताए ।

गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाल प्रत्येक दिन देखिने कूल संक्रमितमध्ये आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना संक्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ ।’ झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि संक्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पुर्‍याउनसक्ने अवस्था रहेकाे मन्त्री ज्ञवालीकाे भनाइ छ ।

मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पुर्‍याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे ।

‘देशैभर क्रमशः कोरोना संक्रमण घट्दै गरेको अवस्थामा काठमाडौँ उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ । यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आग्रह गर्दछु,’ उनले भने । नेपालीको सबैभन्दा ठूलो चाड बडादसैँ नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्नसक्ने औँल्याउँदै उहाँले स्वस्थ्य आगामी दिनमा पनि यस्ता पर्व मनाउन सकिनेतर्फ ध्यान दिन आग्रह गरे ।

‘दसैँको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । त्यसो हुनाले दसैँ मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ,’ मन्त्री ज्ञवालीले भने ।

विगतमा जस्तो गाउँगाउँबाट काठमाडौँ ओहोरदोहोर गर्दा संक्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शिवाद लिन सकिने बताए । ‘परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन्,’ उनले भने, ‘तर हाम्रो सानो लापरवाहीले उहाँहरुको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।’

नेपालमा पछिल्लोसमय ६० वर्ष मुनिका व्यक्तिमा कोरोना संक्रमण दर र मृत्युदर तुलनात्मक रुपमा कम देखिएको छ । केही दिनयता नेपालमा कोरोनाका कूल संक्रमितको आधाभन्दा बढी संख्या  काठमाडौँ उपत्यकामा देखिन थालेको छ ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु