गृहपृष्ठ प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डा. केसीसँग कुरै नगर्ने, बरु कात्रो पठाउने तयारी हो ?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डा. केसीसँग कुरै नगर्ने, बरु कात्रो पठाउने तयारी हो ?

२४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति सरकारले वेवास्ता गरिरहेकाे नेपाली कांग्रेसले आरोप लगाएकाे छ । सरकारले वार्ता समितिसम्म गठन नगरेर उदासीनता प्रकट गरेको कांग्रेसकाे आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नुहुन्थ्यो, त्यो स्वभाविक थियो । अब अनशनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि ? लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?’

कांग्रेसको सरकार भएकाे बेला डा. केसी अनशन बस्दा वार्ता गरिएकाे र कयौं माग पूरा गरिएकाे पनि विज्ञप्तिमा स्मरण गराइएकाे छ । ‘चाहे सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवादमार्फत उहाँका माग पूरा गरिए, विज्ञप्तिमा भनिएको छ, ‘तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो । अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका मागबारे संवादमार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन । सत्याग्रहीलाई दुर्व्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेका छन् ।’

डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको र वार्ता नगर्ने ‘बालुवाटारे बालहठ’ प्रधानमन्त्री  ओलीलाई महँगो पर्ने कांग्रेसले चेतावनी दिएकाे छ । ‘हेक्का रहोस्, लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’ कांग्रेसले चेतावनी दिएको छ ।

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु