गृहपृष्ठ प्रदेश २ का २७ हजार छोरीको घरमा अब निःशुल्क इन्टरनेट

प्रदेश २ का २७ हजार छोरीको घरमा अब निःशुल्क इन्टरनेट

प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बिमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गरिदिने भएको छ । छोरी शिक्षा बिमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बिमा कार्यक्रममा २०७६ माघ २ गतेयता बिमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियंका यादवले जानकारी दिइन् । माघ २ गतेखि प्रदेश २ का १३६ वटै पालिकामा छोरी शिक्षा बिमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बिमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर संकलन गर्ने काम भइरहेको बताए ।

महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बिमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको उनले जानकारी दिइन् । प्रदेशका सबै १३६ पालिकाले छोरी बिमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिनेछ ।

बिमा भएका छोरीहरुको घरमा सुविसु इन्टरनेट कम्पनीले इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । महिला हिंसा न्यूनीकरण गर्न तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश २ मा छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा छ । जसमा छोरी जन्मनेबित्तिकै प्रदेश सरकारले ३७ हजार रुपैयाँ तिरेर तीन लाखको बिमा गरिदिँदै आएको छ । उक्त बिमा रकम छोरीले २० वर्षपछि पाउनेछन् । सुरुमा २०७५ सालमा १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाख रुपैयाँको बिमा प्रदेश सरकारले गर्दै आएको थियो ।

मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९५६ छोरीको बिमा गरिएको तथ्यांक छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बिमाको तथ्यांक रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले छोरी शिक्षा बिमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो, जसमा २ माघ २०७६ देखि छोरीको बिमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो ।

प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न असोज २१ गते बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो । मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बैठकले पुनः छोरी शिक्षा बिमा सुरु गर्ने, प्रभावकारी ढंगले अगाडि बढाउने, इन्टरनेट जडान गर्नेलगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिइन् । अब अर्को बैंकसँग छोरी शिक्षा बिमासम्बन्धी सम्झौता भएपछि बिमा कार्यक्रम सुरु हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु