गृहपृष्ठ नेपाली कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने
नेपाली कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्तावापतको रकम फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको कांग्रेसले जानकारी दिएकाे छ ।
दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाँण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले यसअघि नै दसैंभत्ता फिर्ताको घोषणा गरिसकेका छन् । संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्नुपर्ने सांसदहरुबाट नै आवाज उठाएपछि संसदीय दलले संस्थागत निर्णय गर्न लागेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशनसमेत दिइसकेका छन् । दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बताएका छन् ।
मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । कानुनी व्यवस्था नगरी मन्त्रिपरिषदकै निर्णयका आधारमा सचिवालयले सांसदलाई दसैं खर्च सांसदलाई दिएको थियो ।
प्रकाशित समय १२:४४ बजे

















