गृहपृष्ठ नेपाल एसियाको कमजोर शक्ति राष्ट्र

नेपाल एसियाको कमजोर शक्ति राष्ट्र

Power Index_NewsKarobar

नेपालले रक्षा, कुटनीतिलगायतका क्षेत्रमा विश्वमा प्रभावशाली उपस्थिति देखाउन नसकेपछि एसियाको कमजोर शक्ति राष्ट्रमा दरिएको छ । लोवी इन्स्टिच्युटले सार्वजनिक गरेको यस वर्षको ‘एसिया पावर इन्डेक्स-२०२०’ मा नेपाल पुछारबाट दोस्रो (२५ औं) स्थानमा छ । यो भनेकाे निकै कमजोर अवस्था हो ।

नेपालको स्कोर ४.४ छ भने नेपालभन्दा ठीकमुनि पपुवा न्युगिनी छ । गत वर्षका तुलनामा नेपालको स्कोर ०.२ ले घटेको हो । पपुवा न्युगिनी ३.८ स्कोरसहित २६ औं स्थानमा छ ।

लोवी इन्स्टिच्युटले सन् २०१८ देखि ‘एसिया पावर इन्डेक्स’ सार्वजनिक गर्न थालेको हो । आर्थिक क्षमता, सैन्य क्षमता, बहनशीलता/लचिलोपन, भविष्यको स्रोतसहित स्रोतहरू, कुटनीतिक, सांस्कृतिक प्रभाव, रक्षा सञ्जाल र आर्थिक सम्बन्धका फरक फरक सूचकका आधारमा शक्तिशाली सूचक तयार पारिएको संस्थाले उल्लेख गरेको छ ।

सूचकअनुसार अमेरिका ८१.८ स्कोरसहित विश्वकै शक्ति राष्ट्रका रूपमा छ भने ७६.१ स्कोरसहित चीन दोस्रो स्थानमा, जापान ४१ स्कोरसहित तेस्रो स्थानमा, भारत ३९.७ स्कोरसहित चौथो र रुस ३३.५ स्कोरसहित पाँचौँ स्थानमा छ ।

कोभिड-१९ ले क्षेत्रीय शक्तिमा सन्तुलनमा विशृंखलता उत्पन्न गरेको र यसले एसियाली शक्तिहरूबीच तल झर्ने स्पर्धा बढाएको भन्दै प्रतिवेदनमा चीनमा महामारीका असर  कूटनीतिक रूपमा कम पभाव देखिए पनि बेइजिङले समग्र शक्तिमा आफ्नो स्वामित्व बनाइरहेको उल्लेख छ ।

मुख्य शक्ति सन्तुलनमा भारतको स्थिति कमजोर बन्दै जाँदा भविष्यमा चीनको नजिकको प्रतिष्पर्धी बन्न सक्ने कुरा केही कम भएको प्रतिवेदनमा जनाइएको छ ।

नेपालले आर्थिक क्षमता र सांस्कृतिक प्रभाव मापनमा राम्रो प्रदर्शन गरे पनि सैन्य क्षमता, रक्षा सञ्जाल, लचिलोपनलगायतका क्षेत्रमा कम स्कोरका कारण पुछारतिर परेको प्रतिवेदनले औंल्याएको छ ।

यस वर्षको सूचकअनुसार नेपाल आर्थिक क्षमतामा २३ औं स्थानमा छ भने सैन्य क्षमतामा २४ औं स्थानमा छ भने कुटनीतिक प्रभावमा २५ औं स्थानमा छ । यस्तै, आर्थिक सम्बन्ध सूचककांकमा २५ औं, सैन्य सञ्जालमा २४ औं स्थानमा छ ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु