गृहपृष्ठ अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई भोट दिन ओबामाको आह्वान
अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई भोट दिन ओबामाको आह्वान
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई अब बिदा गर्नुपर्नेमा जोड दिए ।
पूर्व राष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउनसमेत सबैलाई अपिल गरे । डेमोक्र्याट तर्फका उम्मेदवारहरुलाई समर्थन जनाउँदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा हाम फालेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरेका छन् ।
बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भने, ‘उहाँहरुप्रति देशको आर्थिक सुधार र कोरोनाभाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उहाँहरुसँग क्षमता पनि छ, त्यसैले तपाई हामी सबैले उहाँहरुलाई जिताउनु पर्छ ।’ उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्व दिनसक्ने दाबीसमेत मतदाताहरु समक्ष गरे । अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनाबी मैदानमा छन् ।
मतदानको दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरु तीव्र भएका छन् भने सभा तथा र्यालीहरु धेरै ठाउँमा आयोजना गरिएका छन् । बुधबार आयोजित एक र्यालीलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार बर्ष फेरि खेर फाल्न नहुने टिप्पणी गरे ।
राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्युनीकरण गर्न धेरै काम गर्न सक्ने हुदाँ हुदै पनि नगरेको उनको भनाई थियो । अहिलेका राष्ट्रपति ट्रम्पले अविश्वासीला कुरा र व्यवहार मात्रै गरेको र जिम्मेवार हुन नसकेको पनि ओबामाले आरोप लगाए । (एजेन्सी)
प्रकाशित समय ०७:५० बजे

















