गृहपृष्ठ विमानस्थल सञ्चालनमा आउँदा मानिसहरुले पर्व आएझैँ गरिरहेका छन् : तेजबहादुर बुढथापा
विमानस्थल सञ्चालनमा आउँदा मानिसहरुले पर्व आएझैँ गरिरहेका छन् : तेजबहादुर बुढथापा
धनगढी विमानस्थललाई स्तरोन्नत गरी अहिले तीन साना र दुई ठूला गरी पाँचवटा जहाज पार्किङ गर्न मिल्ने बनाइएको छ । धनगढी विमानस्थलसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थल पनि अहिले सञ्चालन भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैतडी, बझाङ र डोटी विमानस्थल एकैदिन उद्घाटन गरेका थिए । यी विमानस्थल उद्घाटनसँगै केही दिनयता नियमित उडान भइरहेका छन् । पहाडी जिल्लाका यी विमानस्थल सञ्चालनमा आएसँगै आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापनका विषयमा सुदूरपश्चिम प्रदेश संयोजक दिनेश बिष्टले धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापासँग गरेको कुराकानी :
अहिले धनगढी विमानस्थलको अवस्था के छ ?
धनगढी विमानस्थलको अवस्था भनेको अहिले उडान ब्ढिरहेका छन् । कोभिड १९ ले गर्दा केही असर गरेको भए पनि काठमाडौँबाट नियमित चारवटा उडान भइरहेका छन् । दुर्गम पहाडी जिल्लामा पनि अहिले उडान भइरहेको छ । बाजुरा, बझाङ, डोटी र बैतडी दिनहुँजसो विमान गइरहेका छन् । उडान र यात्रु दुवै बढ्दो दरमा छ ।
धनगढी विमानस्थलमा के-के प्रविधि र पूर्वाधार विस्तार भयो ?
आवश्यक प्रविधि जडान भइसकेका छन् । अप्रोच लाइड र भीओआरडी स्थापना भइसकेको छ । जग्गा अधिग्रहण भइरहेको छ । कोभिडका कारण जग्गा अधिग्रहणको प्रक्रिया केही पछाडि धकेलिएको छ । मास्टर प्लानको पेपर एकपटक प्रेजेन्टेसन भइसकेको छ । धेरै महत्वपूर्ण काम भइसकेका छन् भने केही प्रक्रियामा छन् ।
पहाडी जिल्लामा उडान त सुरु भयो, निरन्तरताका लागि त्यहाँका विमानस्थलहरुको अवस्था कस्तो छ ?
आवश्यक जनशक्ति खटाएका छौँ । अहिले सामान्य उपकरणमार्फत विमानस्थल सञ्चालन छन् । अन्य उपकरण विस्तारै जडान होलान् । अहिलेलाई कामचलाउ खालको समन्वय भइरहेको छ । बैतडीबाहेक अन्य विमानस्थलमा बिल्डिङ राम्रै छन् । उपकरण जडान गर्न बाँकी छ ।
पहाडी जिल्लामा उडान भरिरहेका जहाजले यात्रु पाइरहेका छन् ?
यात्रुको चाप राम्रो छ । केही दिनअघि बझाङमा एकैदिन तीनवटा उडान भए । यात्रुको चाप बढी भएकै कारण बढी उडान गर्नुपरेको हो । अब साँझेबगरमा पनि नियमित उडान गर्ने कुरा भइरहेको छ । यात्रु राम्रै पाइन्छ ।
यो विमानस्थललाई क्षेत्रीय बनाउने भन्ने कुरा थियो, कहाँ पुग्यो प्रक्रिया ?
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढेको छैन । कोभिडका कारण प्रभावित भयो । अब विस्तारै त्यो काम सुरु हुन्छ । अनि गुरुयोजना फाइनल हुन्छ । एक चरणको गुरुयोजना प्रस्तुत भएकै हो । कोभिडले केही प्रभावित पारेको छ । अब अर्को चरणको गुरुयोजना प्रस्तुत हुन्छ । अनि जग्गा अधिग्रहणको काम अघि बढ्छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा त उडान सुरु भए, यहाँबाट अन्य प्रदेशमा उडान भर्न कति सम्भव छ ?
विस्तारै त्यसले पनि गति लिन्छ । नागरिकको मागअनुसार अन्य प्रदेशमा पनि यहाँबाट उडान हुनसक्छ । पोखरा, विराटनगरलगायतका ठाउँका साथै हेलिकप्टर फ्लाइटको कुरा पनि भइरहेको छ । यहाँबाट मानसरोवरलगायतका क्षेत्रमा जाने हेलिकप्टर फ्लाइट पनि हुनसक्छ । त्यसका लागि पहल पनि गर्नुपर्छ । यहाँको सम्पूर्ण निकायले त्यसको पहलमा लाग्नुपर्छ । अहिले धनगढी विमानस्थल लगभग डोमेस्टिक क्षेत्रीय विमानस्थल बनेको छ । अहिले समिटले उडान गरिरहेको छ । भोलिका दिनमा अन्यले उडान गर्छन् । रन वेको लम्बाइ बढाउने कुरा आइरहेको छ । त्यसपछि ठूला जहाजले पनि उडान भर्नेछन् । यही ढंगले अगाडि बढे भविष्य राम्रो छ । यसका लागि सबैले पहल गर्नुपर्छ । अहिले १८ सिट क्षमताका जहाजमात्रै गइरहेका छन् । पहाडी जिल्लाका विमानस्थलको स्तरोन्नति गरेर क्षमता बढाउने र ४२ सिटसम्मका जहाज उड्ने विमानस्थल बनाउने सोच भइरहेको छ । त्यही ढंगले विमानस्थलहरु विस्तार गरेर उडान सुरु हुन्छन् ।
धनगढी विमानस्थलमा राति जहाज राख्न सकिने प्रविधि छैन भनिन्छ, यो सत्य हो ?
होइन । राति बस्नलाई समस्या छैन । प्राविधिक टिम आएर यहाँ नै बसेका पनि छन् । नियमित उडान भर्न थालिसकेपछि राति बस्नैपर्छ । यहीँ बेस बनाएर जहाज चल्छन् ।
पहाडी जिल्लामा उडान सुरु भएसँगै सुदूरपश्चिमबासी कति उत्साहित भएको पाउनुभयो ?
सुदूरपश्चिमबासी निकै उत्साहित छन् । बिरामी हुँदा धेरै सहज हुने भएको छ । मानिसहरु १२–१४ घण्टा लाग्ने बाटो २० मिनेटमै आइपुग्ने भएका छन् । विमानस्थल सञ्चालन भएपछि यहाँका मानिसले ठूलो पर्व नै आएको जस्तो महसुस गरेको पाएको छु ।
सञ्चालन नभएका अन्य विमानस्थल सञ्चालनको तयारी के छ ?
मैले थाहा पाएअनुसार अछामको साँफेमा चल्न सुरु नै भएको छ । अछामको कमलबजार विमानस्थल पनि सञ्चालन हुने कुरा आइरहेको छ । कञ्चनपुरको मचगाउँ विमानस्थल सञ्चालनको तयारी भइरहेको छ । दार्चुलाको गोकुले विमानस्थल पनि स्तरोन्नति हुने कुरा छ । टीकापुर विमानस्थल पनि सञ्चालन हुँदै छ । सम्पूर्ण विमानस्थल सञ्चालन हुनुपर्छ र उडान हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
अहिले सञ्चालन भइसकेका विमानस्थलहरुमध्ये बढी राम्रो सम्भावना कहाँको छ ?
सबैभन्दा राम्रो सम्भावना बझाङमा छ । सम्भावना त सबै ठाउँमा छ नै । दार्चुलाको गोकुलेमा पनि सम्भावना हुन्छ । यसरी हेर्दा सबै राम्रै सम्भावना भएका विमानस्थल छन् । अहिले यात्रुको चाप हेर्दा बझाङमा बढी छ । निरन्तर माग बढिरहेको छ ।
भविष्यमा नियमित उडान हुनेमा विश्वस्त हुनुहुन्छ ?
अब नियमित नै उडान हुन्छ । उडानमा चुनौती केही छैन । नागरिक उड्डयन प्राधिकरणका तर्फबाट भौतिक संरचनादेखि पूर्वाधार तयार गर्नेसम्मका काम हामी गर्छौं । तर, एउटाले मात्र गरेर हुँदैन, स्थानीय तहदेखि पर्यटन व्यवसायी, प्रदेश सरकारलगायत सम्बन्धित सबैबाट सार्थक पहल भए धनगढीका साथै सुदूरपश्चिमका पहाडी जिल्लाका सबै विमानस्थल नियमिन सञ्चालन हुनेछन् ।
प्रकाशित समय १५:४७ बजे

















