गृहपृष्ठ सुनसान बन्यो यस वर्षको दसैँ

सुनसान बन्यो यस वर्षको दसैँ

Rastrapati_NewsKarobar आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, तस्बिरः रासस

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन ।

यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक दिन संक्रमितको संख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाउँदैछन् । कोरोनाको त्रासकै कारण यो वर्ष राजधानीबाट आ–आफ्नो थातथलोमा दशैँ मनाउन जाने पनि कम नै भएका थिए । टीका लगाउन हिँड्नेहरु पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै हिँड्ने गरेका छन् ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान १०ः१९ बजेको साइत उत्तम रहेको भनी निर्णय गरेको थियो ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः११ बजे दिएको थियो । भ्याउनेले यसै समय देवी विसर्जन गरी १०ः१९ मै टीका लगाएका छन् । नभ्याउनेले भने कोजाग्रत पूर्णिमासम्म उपयुक्त समयमा लगाउनेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी वडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आजदेखि कोजाग्रत पूर्णीमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्ने गरेपनि यो वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ । (रासस)

 

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु