गृहपृष्ठ दसैंका विदामा पनि उठ्यो २८ करोड राजस्व

दसैंका विदामा पनि उठ्यो २८ करोड राजस्व

money_Newskarobar

देशभर शुक्रबारदेखि दसैंका विदा भए पनि भन्सार नाकाहरू खुला हुँदा दसैं विदाका तीन दिनमा २८ करोड रूपैयाँ राजस्व उठेको छ । विदाको पहिलो दिन शुक्रबार २७ करोड रूपैयाँ राजस्व उठेकोमा शनिबार ९२ लाख र आइतबार १८ लाख रूपैयाँ राजस्व उठेकाे छ ।

सबै सरकारी कार्यालयहरू विदा भएकाले यो तीन दिनमा सरकारी खर्च भएन अर्थात खर्चका लागि एक पैसा पनि निकासा भएन । आइतबारसम्मको ट्रेजरी अवस्थाअनुसार राजस्वबाट २ खर्ब १५ अर्ब २ करोड रूपैयाँ उठेको छ भने संघीय सरकारको सर्वसञ्चित कोषबाट २ अर्ब २३ करोड रूपैयाँ खर्च भएको छ ।

कात्तिकको पहिलो सातासम्म चालू खर्चमा २०.५ प्रतिशत खर्च गरिसकेको सरकारले पुँजीगततर्फ  कुल विनियोजनको केवल ७ प्रतिशतमात्रै खर्च गर्न सकेको छ । खर्च व्यवस्थापनका लागि सरकारले चालू वर्षको पहिलो चाैमासिक अवधिबाटै आन्तरिक ऋण उठाउन थालिसकेको छ । पहिलो चाैमासिक अवधिमा ५७ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्यअनुसार लगभग उठाइसकिएको छ ।

राष्ट्र बैंकका अनुसार सरकारको खातामा गत वर्ष खर्च नभएको २ खर्ब ७ अर्ब ९८ करोड रूपैयाँ बाँकी छ, यसमध्ये आधा स्थानीय तह र प्रदेश सरकारको पैसा हो । अर्थमन्त्रालयका अनुसार भदाै मसान्तसम्म ७७ अर्ब ७२ करोड रूपैयाँ वैदेशिक ऋण र १२ अर्ब ३५ करोड रूपैयाँ अनुदान गरी कुल ८४ अर्ब ७ करोड रूपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ ।

यी तीनै स्रोतबाट गरी अहिले सरकारको ट्रेजरीमा करिब २ खर्ब ८५ अर्ब रूपैयाँ उपलब्ध भए पनि यसमध्ये १ खर्ब ४१ अर्ब रूपैयाँ खुद ऋण हो  ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु