गृहपृष्ठ कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी
कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी
न्यायाधीश तथा कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् ।
देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरु जिल्ला तथा सुरु तहका अदालतहरु पनि रहेका छन् । बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधीश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उनले बताए ।
बारका सचिव मिर्जाले संक्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए । पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल संक्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ । त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । (एजेन्सी)
प्रकाशित समय १४:३९ बजे

















